logo
२०८१ बैशाख १३ बिहीवार



अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता कात्तिक ११ गतेदेखि

खेलकुद |


अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता कात्तिक ११ गतेदेखि


हरि कोइराला
उर्लाबारी, कात्तिक ८ गते । मोरङको बेलबारीमा कात्तिक ११ गतेदेखि चाैंथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विषयमा जानकारी गराएको हो ।

प्रतियोगिता कात्तिक १८ गतेसम्म हुनेछ । बेलबारी–११ स्थित लक्ष्मी खेल मैदानमा हुने प्रतियोगिता गत चैतमा हुने तय भएको थियो । कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि ठप्प भएको बेला डाँगीहाट युथ क्लबले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहनेछ । प्रतिगोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डिवाइसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुढीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कात्तिक ११ गते हुने उद्घाटन खेलमा रोलिङ क्लब झापा र च्यासल क्लबबीच प्रतिस्पर्धा हुने क्लबका उपाध्यक्ष ज्ञानुराज राईले बताउनुभयो ।
बेलबारी नगरपालिकाको सहयोग र बुद्ध एयरको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।

गोल्डकपका विजेताले पाँच लाख र उपविजेता टिमले दुई लाख ५० हजार रूपियाँ नगदसहित गोल्ड कप र ट्रफी पाउनेछन् ।

त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ द म्याचले पाँच हजार पाँच सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११/११ हजार रूपियाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सञ्चालन गर्न ४५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?