logo
२०८० चैत्र १६ शुक्रवार



सरकारी कार्यालयमा अधिकांश कर्मचारी अनुपस्थित

खुला |
प्रदेश |


सरकारी कार्यालयमा अधिकांश कर्मचारी अनुपस्थित


बेलिना थापा
लमजुङ, कात्तिक ६ गते । लमजुङका सरकारी कार्यालयमा अधिकांश कर्मचारी अनुपस्थित रहेको पाइएको छ । दशैं बिदा सकिएर असोज ३१ गते आइतबारदेखि कार्यालय खुले पनि अधिकांश कर्मचारी कार्यालयमा अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयमा उपस्थित भएका कर्मचारी पनि धेरैले पोशाक नलगाएको भेटिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले बताउनुभयो । उहाँकाअनुसार प्रशासनले नौ वटा कार्यालयको छड्के अनुगमन गर्दा सो अवस्था भेटिएको बताएको छ ।

प्रशासकीय अधिकृत मिश्रकाअनुसार उपस्थित कर्मचारीमध्ये धेरैले कार्यालय पोशाक नलगाएको पाइएको छ । उहाँहरुलाई सचेत गराउने काम गरिएको उहाँले जानकारी दिनुभयो । छड्केका क्रममा एउटा कार्यालयमा कार्यालय प्रमुख नै अनुपस्थित रहनुभएको उहाँले बताउनुभयो ।

लमजुङमा संघ, प्रदेश र स्थानीय तहको पालिकासहित ३५ भन्दा बढी सरकारी कार्यालय रहेका छन् । प्रशासनले भने प्रशासन कार्यालय वरपरका कार्यालयको मात्र अनुगमन गरेको थियो । कार्यालय खुलेको ६ दिन भएपनि दशैं बिदामा गएका कर्मचारी अझै नफर्केको अनुगमनका खटिएको टोलीले बताएका छन् ।

प्रशासन नजिकै र वरपरका कार्यालयमा समेत कर्मचारी अनुपस्थित रहेको र पोषाक नलगाएको भेटिएकाले टाढा रहेका कार्यालयमा पनि अधिकांशमा कर्मचारी अनुपस्थित रहेको खवर आएको प्रशासकीय अधिकृत मिश्रले बताउनुभयो ।

अनुगमन टोलीले स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, मालापोत कार्यालय, नापी कार्यालय, पूर्वाधार विकास कार्यालय, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुगमन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले दशैं बिदा सकिएर कार्यालय खुले पनि कार्यालयमा कर्मचारी नहुने अवस्था आउनु दुःखद भएको बताउनुभयो । बिदा सकिएपछि कर्मचारी कार्यालयमा उपस्थित हुनुपर्ने, कर्मचारी नागरिकप्रति इमान्दार र सेवाप्रति वफादार हुनुपर्ने र अनुशासित् हुनुपर्ने उहाँले बताउनुभयो । बिदा सकिए पनि अनुपस्थित भएका र पोषाक नलगाएका कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?