logo
२०८१ बैशाख ८ शनिवार



रोमाञ्चक स्पर्धामा नेपालको पपुवान्यूगिनीमाथि दुई विकेटको जित

क्रिकेट |
खेलकुद |


रोमाञ्चक स्पर्धामा नेपालको पपुवान्यूगिनीमाथि दुई विकेटको जित
तस्विर-फाइल



काठमाडौं, भदौ २२ गते । नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीयको पहिलो खेलमा पपुवान्यूगिनीलाई दुई विकेटले हराएको छ । नेपालले खेल सकिन १० ओभर तीन बल बाँकी छदा आठ विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य पुरा गर्यो । ओमानमा पपुवान्यूगिनीसँग नेपालले दुई अन्तर्राष्ट्रिय एकदिबसीय खेल्नेछ ।
१३५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ८२ रनमै सात विकेट गुमाएर फितलो प्रदर्शन गरेको नेपालका लागि रोहित पौडेलले संयमित पारी खेल्दै जितका लागि एक रन आवश्यक छँदा बोल्ड हुन पुग्नुभयो । पौडेलले ४१ रनको योगदान दिनुभयो । आठौं नम्बरमा ब्याटिङ गर्न आउनुभएका सोमपाल कामीले अविजित २२ रनको योगदान दिनुभयो । दुबै जनाले आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्नुभयो । रोहित र सोमपालले गर्नुभएको अद्र्धशतकीय साझेदारी नेपाली पारीको सबैभन्दा ठूलो साझेदारी रहन गयो । बिक्रम सोब रन नजोडिकन अविजित रहनुभयो । पपुवान्यूगिनीले ४० औं ओभरको तेस्रो बल नो बल फाल्दा नेपालले जित हात पार्यो ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेषले औसत सुरुवात दिलाउनुभयो । तर मध्यक्रम असफल हुँदा नेपाली ब्याटिङ क्रम सामान्य लक्ष्य पछ्याउने क्रममा समेत दबाबमा आयो । पहिलो विकेटका लागि ४६ रनको साझेदारी भएको अवस्थामा कुशल भुर्तेल एलबीडब्ल्युको धरापमा परेर १५ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किनुभयो । लगत्तै आसिफ शेष ३० रन बनाएर पेभेलियन फर्किनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले छ, आरिफ शेषले नौ, कुशल मल्लले १ तथा पवन सर्राफ खाता नखोल्दै पेभेलियन फर्किनुभयो ।
पपुवान्यूगिनीले पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा नेपाल समक्ष १३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । 
ओमानको राष्ट्रिय क्रिकेट एकेड्मी रङशालामा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पपुवान्यूगिनीले ३३ ओभरमा १३४ रनको योगफल तयार गरेको थियो । पपुवान्यूगिनीका लागि चालर्स अमिनिले सर्बाधिक २३ तथा गौडी टोकाले २२ रनको योगदान दिनुभयो । सेसी बौले १४ र किप्लिन डोरिगाले १५ रनको योगदान दिनुभयो ।
दोस्रो ओभरमा औसत गतिका बलर बिक्रम सोबले ओपनर टोनी उरालाई बोल्ड गर्दै पपुवान्यूगिनीमाथि दबाब बनाउनुभयो । उहाँले तेस्रो ओभरमा पुनः कप्तान अस्साद भालालाई आरिफ शेषको हातमा क्याच थमाएपछि पपुवान्यूगिनीले नौ रनमै दुई महत्वपूर्ण विकेट गुमाउन पुग्यो । तर सिएका र चालर्सले अद्र्धशतकीय पारी खेलेर पपुवान्यूगिनीलाई प्रारम्भिक दबाबबाट बाहिर निकाल्नुभयो । सन्दीप लामिछानेले चालर्सलाई विकेट पछाडि आसिफ शेषबाट क्याच आउट गराउँदै साझेदारी तोड्नुभयो ।
पपुवान्यूगिनीलाई सस्तोमै समेटन नेपालका लागि दुई जना स्पिनर सन्दीप र कुशल मल्लले छ विकेट बाँड्नुभयो । सन्दीपले दश ओभरमा मात्र ३५ रन खर्चेर चार विकेट लिनुभयो । कुशलले सात ओभरमा १९ रन खर्चेर दुई विकेट लिनुभयो । सोमपाल कामी महँगो साबित हुनुभयो । उहाँले सात ओभरमा ३७ रन खर्चिनुभयो । उहाँले एक विकेट लिनुभयो । पवन सर्राफ र आरिफ शेषले दुई दुई ओभर बलिङ गरेपनि विकेटविहीन रहनुपर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?