logo
२०८१ बैशाख ८ शनिवार

  नेपाल-भारत मैत्रीपूर्ण फुटबल  



नेपालले भारतको सामना गर्दै, सुरुवाती एघारको घोषणा

फुटबल |
खेलकुद |


नेपालले भारतको सामना गर्दै, सुरुवाती एघारको घोषणा


काठमाडौं, भदौ १७ गते । नेपालले घरेलु मैदानमा आज भारतको राष्ट्रिय फुटबल टोलिसँग स्पर्धा गर्दैछ । दक्षिण एशियाली फुटबल च्याम्पियनशीपको तयारी स्वरुप दुबै राष्ट्रले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।
प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले भारत बिरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि सुरुवाती एघारको घोषणा गर्नुभएको छ । कप्तान समेत रहनुभएका किरण चेम्जोङ्ग गोलकिपरको रुपमा निरन्तरता पाउनुहुनेछ । डिफेन्समा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ र सुमन अर्याल रहनुहुनेछ । त्यसैगरी, पूजन उपरकोटाी, तेज तामाङ्ग, सुमन लामा, आयूष घलान, अञ्जन विष्ट र नवयुग श्रेष्ठले सुरुवाती एघारमा स्थान पाउनुभएको छ ।
सब्स्टिच्युटमा विशाल राई, मनिष डाँगी, सन्तोष तामाङ्ग, नितिन थापा, सुनिल बल, सूरज जेउ ठकुरी, राजन गुरुङ्ग, आशिष लामा र कमल थापा रहनुहुनेछ ।
दशरथ रङशालामा आज साँझ पाँच बजेर ३० मिनेटपछि दुई टोलिबीचको खेल सुरु हुनेछ । एन्फाले नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शकको उपस्थिति रहने जनाएको छ । नेपाल सरकारको स्वीकृतिमा एन्फाले रङशाला क्षमताको करिब पचास प्रतिशत दर्शक राख्न लागेको हो । घरेलु मैदानमा दर्शकको उपस्थितिले टोलिको मनोबल बढाउने हुनाले एन्फाले सरकारसँग दर्शकको उपस्थितिको स्वीकृति मागेको थियो ।
नेपाल भारतको बिगतको खेल
दुबै राष्ट्रले हालसम्म १९ पटक एक अर्काको सामना गरेको छ । भारतले १३ अबसरमा जित हात पारेको छ । नेपालले भने दुई पटक भारतलाई जितेको छ । पछिल्लो पटक नेपालले साफ च्याम्पियनशीपमै भारतलाई हराएको थियो । सन् २०१३ को साफ च्याम्पियनशीपमा नेपालले घरेलु मैदानमा भारतमाथि २–१ को जित निकालेको थियो ।
दुबै राष्ट्रले पहिलो पटक सन् १९८५ को डिसेम्बर महिनामा दक्षिण एशियाली खेलकूदमा एक अर्काको सामना गर्दा बराबरीमा टुंग्याएको थियो । त्यसको आठ वर्षपछि मात्रै नेपालले भारतमाथि पहिलो पटक सन् १९९३ को डिसेम्बर २२ मा तटस्थ ग्राउन्डमा ट्राइ ब्रेकरमा जित हात पारेको थियो । नेपालले भारतलाई हराउन अर्को दुई दशक कुर्नुपर्यो ।
सन् २०१३ सेप्टेम्बर यता दुबै टोलिले पाँच पटक एक अर्काको सामना गरेको छ । जसमध्ये चार खेलमा भारतले जितेको छ भने सन् २०१५ को मार्चमा विश्वकप छनोट खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो ।
सन् २०१७ यता भारतीय र नेपाली फुटबल टोलिले एक अर्काको सामना गरेको छैन् । उक्त मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–० ले हराएको थियो ।
वर्तमान स्थिति
नेपाल हाल अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)को विश्व वरीयतामा १६८ औं स्थानमा रहेको छ । भारत भने फुटबलको विश्व वरीयतामा १०५ औं स्थानमा छ । विश्व फुटबल वरीयतामा दक्षिण एशियाका आठ राष्ट्रमध्ये नेपाल चौथो स्थानमा पर्छ । भारतपछि अफगानिस्तान १५३ औं र माल्दिभ्स १५८ औं स्थानमा छ । मैत्रीपूर्ण फुटबलमा एक अर्कालाई हराएर फिफा वरीयतामा आफ्नो स्थान सुधार गर्ने दुबै राष्ट्रको लक्ष्य रहनेछ । तर दुबै राष्ट्रका प्रशिक्षकले भने आफ्नो ध्येय साफ च्याम्पियनशीप रहेको बताउनुभएको छ । नेपाल समक्ष घरेलु मैदानमा खेल्ने अबसर हुनेछ ।
पछिल्लो पाँच खेल
भारतले विश्वकप छनोटको पछिल्लो पाँच खेलमध्ये मात्र एकमा जित हात पार्न सकेको छ । तर उसले दुई खेलमा अङ्क बटुल्न सफल भएको छ । अफगानिस्तान र ओमानसँग बराबरी खेलेको भारतले कतार र यूनाइटेड अरब एमिरेट्स बिरुद्ध हारको सामना गरेको छ । बङ्गलादेशलाई भने उसले हराएर दोस्रो चरणको छनोटको सुखद अन्त्य गरेको थियो ।
नेपालले भने आफ्नो पछिल्लो पाँच खेलमध्ये दुईमा जित हात पारेको छ । नेपालले घरेलु मैदानमा त्रिदेशीय कप फुटबलमा बङ्गलादेशलाई हराएर उपाधि जितेपछि इराक बिरुद्धको मैत्रीपूर्ण फुटबलमा ६–२ को हार बेहोर्यो । विश्वकप छनोटमा चाइनिज ताईपेइमाथि २–० को जित हात पारेको नेपालले जोर्डन र अष्ट्रेलियासँग ३–० को हार बेहोर्नुपर्यो । नेपालले अन्तर्राष्ट्रिय स्पर्धा खेलेको लगभग तीन महिना हुन लागेको छ । अष्ट्रेलिया बिरुद्ध कुवेतमा विश्वकप छनोटको अन्तिम खेलपछि नेपाल फर्किएको टोलिले त्यसयता लगातार दुई महिना बन्द प्रशिक्षणमा रहेको थियो । घरेलु मैदान र अर्को नियमित प्रशिक्षणले नेपाली फुटबल टोलिको मनोबल उच्च रहेको छ । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलिले जित्ने उद्देश्य लिएर मैदानमा उत्रिने जनाएको छ ।
भारतीय टोलि भने मात्र दुई साताको प्रशिक्षणपछि नेपाल खेल्न आएको हो । यद्दपी उसको टोलिमा रहेका केही सदस्य एएफसी क्लब फुटबल छनोट खेलेर टोलिमा फर्केकोले खेलाडीको अनुभबलाई लिएर ऊ उत्साहित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?