logo
२०८० चैत्र १६ शुक्रवार



विद्यालय पुन: निर्माण कार्य सकियो

शिक्षा |


विद्यालय  पुन: निर्माण कार्य सकियो



प्रकृति अधिकारी
काठमाडौँ, वैशाख ९ गते । पाँच वर्षअघिको भूकम्पबाट पूर्णरुपमा क्षति भएका हरेक विद्यालय भवनको आगामी असार मसान्तसम्ममा पुनःनिर्माण कार्य सकिने भएको छ । वि.सं. २०७२ सालको भूकम्पका कारण ३१ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षाकोठामा क्षति पुगेको थियो । क्षतिग्रस्त भएकामध्ये यसबीचमा ३२७ वटा विद्यालय गाभिएका छन् भने १५३ वटा विद्यालय सञ्चालनमा छैनन् । क्षतिग्रस्तमध्ये सात हजार ५५३ वटा विद्यालय भवन पुनःनिर्माण हुनुपर्नेमा हालसम्म छ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना निर्देशक रामशरण सापकोटाले बाँकी रहेका एक हजार ३०७ वटा विद्यालय भवनको आगामी तीन महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताउँदै भन्नुभयो, “पूर्णरुपमा ध्वस्त भएका विद्यालयको पुनःनिर्माण कार्य बाँकी छैन । त्यसैले त्यस्ता विद्यालय भवनको पुनःनिर्माण कार्य पूर्ण भएको घोषणा गर्दछौँ ।”
एकाइका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत चार हजार ९३३, निर्माण व्यवसायीमार्फत ५५४ र गैरसरकारी संस्थामार्फत् ७५९ विद्यालय भवन पुनःनिर्माण गरिसकिएको छ । अब आगामी असार मसान्तभित्र विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार १२१, निर्माण व्यवसायीमार्फत १७५ र गैससमार्फत ११ विद्यालय भवनको पुनःनिर्माण कार्य सम्पन्न गरिने भएको छ ।
उहाँले ती विद्यालय भवनका ४८ हजार ७११ कक्षाकोठा निर्माण गर्नुपर्नेमा अहिलेसम्म ३५ हजार ५८ कक्षाकोठा निर्माण भइसकेको र अब १३ हजार ६५३ कक्षाकोठा निर्माणाधीन रहेको जानकारी दिनुभयो ।
पुनःनिर्माण गरिएका विद्यालयमा दुई हजार ७०७ शौचालय र २१६ खानेपानीका कार्य पनि सम्पन्न गरिएको छ ।
विद्यालय भवन पुनःनिर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख रुपियाँ आवश्यक पर्नेमा हालसम्म ५३ अर्ब १९ करोड ३९ लाख रुपियाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षका लागि १८ अर्ब ६० करोड ३४ लाख रुपियाँ विनियोजन गरिएको छ । एकाइका आयोजना निर्देशक सापकोटाले दातृ निकायबाट अनुमान गरिए जति प्राप्त नभएकोले रकम अभावको समस्या रहेको बताउँदै अब त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस र प्राविधिक शिक्षालयको पुनःनिर्माण कार्य थालिने बताउनुभयो ।
“विद्यालय पुनःनिर्माण सकिएको छ । कतिपयको जग्गा व्यवस्थापनको समस्या भएकाले निर्माण कार्य अगाडि बढ्न नसकेको हो” उहाँले भन्नुभयो, “विद्यालयहरुले नयाँ र आधुनिक भवन पाएका छन् । अब भौतिक पूर्वाधारलाई शैक्षिक गुणस्तरसँग जोड्नुपर्दछ । कोभिड–१९ ले गर्दा सूचना प्रविधिलाई जोड्न सकिएको छैन ।”
एकाइका आयोजना उपनिर्देशक डा. युवराज पौडेलले जग्गाको उपलब्धता लगायतका कारण सबै विद्यालयलाई पुनःनिर्माणमा समेट्न नसकिएको बताउँदै भन्नुभयो, “छुटेका विद्यालयलाई आगामी वर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनःनिर्माणलाई अगाडि बढाउनुपर्दछ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?