logo
२०८० चैत्र १५ बिहीवार



वसन्तऋतु लाग्यो अझै फुलेन लालीगुराँस, पर्यटकको चहलपहल छैन

पढ्नै पर्ने |
प्रदेश |


वसन्तऋतु लाग्यो अझै फुलेन लालीगुराँस, पर्यटकको चहलपहल छैन


मनोज भट्टराई
ओखलढुगा, बैशाख ६ गते । ओखलढुङ्गाका माथिल्लो भेगमा रहेका जङ्गलमा गत वर्षमा यतिबेला लालीगुराँस राताम्मै हुने गर्दथ्यो । तर योवर्ष यस्तो देखिँदैन अहिले जिल्लाका अधिकांश जङ्गलमा वसन्त ऋतुको आगमनको अनुभूति नै हुनसकेको छैन ।
यतिबेला जिल्लका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीय स्थल बन्ने समय भए पनि यस वर्ष लालीगुराँस फुल्ने मौसम सकिन लाग्दा पनि नफुल्दा न प्रकृति सुन्दर देखिएको छ, न त आन्तरिक पर्यटकको चहलपहल नै भएको छ । यतिबेला जिल्लाका विभिन्न क्षेत्रमा रहेका जङ्गलमा फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढ्ने गर्दथ्यो ।
जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष मध्यपहाडी जिल्ला ओखलढुङ्गाको अधिकांश क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि जङ्गलहरु उजाड जस्ता देखिएका छन् । यी क्षेत्रका जङ्गलमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । न त यहाँका जङ्गलमा चुत्रो, ऐँसेलु नै फुल्न सकेका छन् न त यस याममा फल्ने वनफल नै फलेको छ । चैत, बैशाख महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको पर्यटकीय स्थान ठाडेमा होटल ब्यवसाय गर्दै आएका पारस मगरको भनाइ छ । यस क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गर्दथ्यो । यी क्षेत्रमा लाली गुराँसकै घना जङ्गल रहेको भए पनि यो वर्ष नफुल्दा उजाड जस्तै देखिएको उहाँले बताउनुभयो । सदरमुकाम नजिकै रहेको ठाडे बजारमा नयाँ वर्षको दिन केही चहलपहल भए पनि अन्य दिन सुनसान रहेको ठाडेका ब्यवसायीहरु बताउँछन् । यो समयमा लालीगुराँस फुलेर राताम्मे बन्ने बन्ने गरेको ठाडे जन्तरधापका डाँडाहरु उराठलाग्दा भएको स्थानीयको भनाइ छ ।
पर्यटकीय क्षेत्र देम्वाडाँडामा पनि यो वर्ष गुराँस फुलेको छैन । देम्वा डाडामा पर्यटन प्रवर्धनका लागि भनेर चैत ३१ र वैशाख १ गते खेलकूद कार्यक्रमको आयोजना गरिएको भए पनि त्यही दुई दिन मात्र केही चहलपहल भएको तर अन्य दिन सुनसान रहेको स्थानीय दावा शेर्पाले बताउनुभयो । यस क्षेत्रमा न त गुराँस फुल्यो न त चुत्रो नै फुलेको छ । यस वर्ष हिउँदमा पानी नपरेकाले लालीगुराँस कम फुलेको र फुलेका लालीगुराँस पनि साना कोपिला जस्तो देखिने गरेको सिद्धिचरण नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मदनबहादुर मगरले बताउनुभयो ।
ऐँसेलु, काफल, चुत्रो लगायतका वनफलहरु नफलेको मोलुङ गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष हम सुनुवारको भनाइ छ । पाेहाेर यतिबेला वनभरी लालीगुराँस फुलेर रमणीय हुने गरेको भए पनि यो वर्ष वैशाखको पहिलो सातासम्म पानी नपरेका कारण वनजङ्गल नै उराठलाग्दा भएको सुनुवारले बताउनुभयो ।
भौगोलिक उचाइगत विविधताले ठूलो घना जङ्गल रहेको ओखलढुङ्गाको माथिल्लो भेगमा ऐँसेलु, चुत्रो, डिम्मर, मजिठो, सतुवा, नागबेलीसहित धेरै प्रजातिका जडीबुटी रहेको डिभिजन वन कार्यालय ओखलढुंगाको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी यस वर्ष यही मौसममा फल्ने काफल पनि फलेका छैनन् । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँस लगायतका अन्य क्षेत्रमा प्रभाव परेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?