logo
२०८० चैत्र १५ बिहीवार



दार्चुला– तिङ्कर सडकको तीन मन्त्रीद्वारा निरीक्षण हुँदै

खुला |


दार्चुला– तिङ्कर सडकको तीन मन्त्रीद्वारा निरीक्षण हुँदै
महाकाली करिडोर अन्तरगत निर्माणाधीन दार्चुला–तिङ्कर सडक । तस्बिर - लोकेन्द्र जोशी/दार्चुला 



लोकेन्द्र जोशी
दार्चुला, वैशाख ४ गते । महाकाली करिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडकको कार्यप्रगति निरीक्षण गर्न नेपाल सरकारका तीन मन्त्री दार्चुला आउँदै हुनुहुन्छ ।
सडक निरीक्षणका लागि भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नासहितको टोली आइतबार विहान दार्चुला आइपुग्ने भएको हो ।

दार्चुला–तिङ्कर सडकको कार्य प्रगतिबारे नेपाली सेनाको हेलिकोप्टरमार्फत् निरीक्षण गर्ने र दार्चुला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बताउनुभयो । सडकको कार्य प्रगतिलगायत विषयमा आइतबार विहान ११ बजे महाकाली नगरपालिकाको सभाहलमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

वि.सं.२०६४।०६५ सालबाट निर्माण सुरु गरिएको दार्चुला–तिङ्कर सडक निर्माणले १२ वर्ष पुग्दा पनि लक्ष्य तथा जनअपेक्षा अनुसार गति लिन सकेको छैन । यो सडकमा अहिलेसम्म दार्चुला सदरमुकाम खलंगादेखि सुन्सेरासम्म ४४ किलोमिटर मात्रै ट्र्याक खुलाइएको छ । गत वर्ष २०७७ मा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको पहल तथा नेपाल सरकारको निर्णय अनुसार दार्चुला–तिङ्कर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । अहिले सडक निर्माणको लागि नेपाली सेनाको निर्माण दल व्यास गाउँपालिकाको सुनसेरा र दुम्लीङमा क्याम्प राखेर निर्माण कार्य सुरु गर्ने तयारी गरिरहेको छ ।

यसअघि नै ठेक्का व्यवस्थापन भइसकेको खलंगादेखि घाँटीबगरसम्मको सडक दार्चुला–तिङ्कर सडक आयोजनाले नै निर्माण गरिरहेको छ । सरकारले महाकाली करिडोर अन्तर्गत दार्चुला–तिङ्कर सडक खण्डको १३४ किलोमिटर मध्ये ठेक्का हुन बाँकी घाँटीबगर देखि तिंकरसम्मको ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएपछि तिङ्करसम्म चाँडै सडक विस्तार हुनेमा व्यासवासी आसाबादी बनेका छन् । चालू आर्थिक वर्षमा दार्चुला–तिङ्कर सडक निर्माणका लागि चालुतर्फ ३२ करोड बजेट विनियोजन गरिएको थियो । महाकाली करिडोरलाई बहुवर्षे ठेक्कामा लगेर छिटो निर्माण सम्पन्न गर्न झण्डै ९३ करोड बजेटको बोलपत्र आह्वान गरिएको छ ।

दार्चुला–तिङ्कर सडक खण्डको खलंगादेखि सुनसेरासम्म सडक कालोपत्रको लागि पहल भइरहेको मन्त्री ठगुन्नाले जानकारी दिनुभयो । पाँच वर्षभित्र मालिकार्जुन गाउँपालिकाको सलेतीदेखि खलंगा र खलंगादेखि सुन्सेरासम्म झण्डै ६० किलोमिटर सडक कालोपत्रे गर्न छ अर्व बढी बजेटको स्टमेट सहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको मन्त्री ठगुन्नाले बताउनुभयो ।

चालू आर्थिक वर्षमा कालोपत्रेका लागि बहुवर्षे ठेक्का आह्वान गर्ने तयारी स्वरुप ९५ करोड बजेट माग गरिएको उहाँको भनाइ छ । नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पुर्वाधार विभाग अन्तरगत रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) मार्फत दोस्रो चरणमा कार्यान्वयन गर्नका लागि दार्चुलाको भर्तोला–उकु–लाली–सेरा सडकको डिपिआर समेत तयार भइरहेको मन्त्री ठगुन्नाले बताउनुभयो ।

भर्तोला–जौलजिबी–सेरा सडक निर्माण सम्पन्न गर्नका लागि शुक्रबार मात्रै तीन करोड बजेट समेत निकासा भएको छ । संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका अधुरा आयोजना सम्पन्न गर्ने उद्देश्य अन्तरगत चालू आर्थिक वर्षमा भर्तोला–जौलजिबी–सेरा सडकका लागि तीन करोड बजेट निकासा गरिएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?