logo
२०८० चैत्र १६ शुक्रवार

  थ्री नेशन्स कप फुटबल  



कोरोनाको दोस्रो लहरकाे जोखिमबीच दर्शकको उपस्थितिमा खेल सुरु हुँदै

खेलकुद |
फुटबल |


कोरोनाको दोस्रो लहरकाे जोखिमबीच दर्शकको उपस्थितिमा खेल सुरु हुँदै


इश्वरचन्द्र झा
काठमाडौं, चैत १० गते । अखिल नेपाल फुटबल संघको आयोजनामा मङ्गलबारदेखि ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिता सुरु हुँदैछ । कोभिडको दोस्रो लहर आउन सक्ने सम्भावनाका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने प्रकारले सभा, सम्मेलन, गोष्ठी आयोजना नगर्न सूचना जारी गरेको छ । तर अखिल नेपाल फुटबल संघ(एन्फा)ले दर्शकको उपस्थितिमै ‘थ्री नेशन्स कप’को सबै खेल हुने जनाएको छ ।
एन्फाका प्रवक्ता किरण राईले सामाजिक दूरीको पालना गरी दर्शकको उपस्थिति कायम राख्ने प्रष्ट्याउनुभयो । तर एन्फाले सामाजिक दूरी तथा स्वास्थ्य मापदण्डको पालना गराउने दाबी गरेपनि ब्यवहारमा त्यस प्रकारको तयारी गरिएको देखिन्न ।
पहिलो खेलमा आज किर्गिस्तानले बङ्गलादेशको सामना गर्दैछ । साँझ साढे पाँच बजे सुरु हुने खेलमा दुई विदेशी टोलीले एक अर्काको सामना गर्ने हुँदा दर्शकको उपस्थिति अपेक्षाकृत कम हुने अनुमान गरिएको छ । तर बिहीबार हुने नेपाल र किर्गिस्तानबीचको खेलमा कम्तीमा पाँचदेखि सात हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले बताउनुभयो । सीमित परिधिभित्र सात हजार दर्शक राखेर खेलाइने अवस्थामा मापदण्ड पूरा हुन नसक्ने जनस्वास्थ्यविद्हरु तर्क गर्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्डको उल्लंघन हुने गरी कुनै प्रकारको क्रियाकलाप नगर्न आइतबार नै निर्देशन जारी गरेको छ । तर एन्फाले भने खेलको लागि टिकट बिक्री कार्यलाई निरन्तरता दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले “हामीले मापदण्ड तोकेर सचेत गराउने हो, मापदण्ड पालना गराउने निकायकोयस सम्बन्धमा ध्यानाकर्षण हुनुपर्ने” बताउनुहुन्छ । गत साताको अन्त्यमा दैनिक थपिने सङ्क्रमित ५० जनाभन्दा कममा झरेको थियो । तर साताको सुरुवातदेखि चौबीस घण्टामा थपिने सङ्क्रमित बढ्दैछ । सोमबार चौबीस घण्टामा १५० जना सङ्क्रमित थपिएका छन् ।
छिमेकी राष्ट्र भारतमा कोभिड १९ को दोस्रो लहर आएको देखिन्छ । दोस्रो लहरको संकेत आउनासाथ सङ्क्रमण प्रभावित क्षेत्रमा खेलकुदमा दर्शकको उपस्थितिमा बन्देज लगाइएको छ । गत आइतबार नै सम्पन्न इंग्ल्याण्ड र भारतबीचको टी ट्वान्टी श्रृखंलामा समेत दर्शक उपस्थिति शून्यमा झारिएको थियो ।
यद्दपी एन्फाले रङ्शाला प्रबेश गर्ने दर्शकका लागि मापदण्ड तयार गरेको छ ।सबै दर्शकको तापक्रम मापन गरिने, अनिवार्य ‘सैनिटाइजर’ लगाउनुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने एन्फाले मापदण्ड जारी गरेको छ ।
तर यस प्रकारको अनुभवले समेत अन्य राष्ट्रहरुमा काम गरेको देखिन्न । भारतमा मार्च दोस्रो साताको सुरुवातमा चौबीस घण्टामा थपिने सङ्क्रमित संख्या १२ हजारसम्म भएकोमा स्वास्थ्य मापदण्डमा हेलचक्रयाइँ गरेपछि परिस्थिति फेरिएको छ । दुई साताको अन्तरालमा दैनिक थपिने सङ्क्रमित बढ्दै गएको छ । सोमबार चौबीस घण्टामा करिब ४७ हजार सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले ‘हतारमा काम गरेर फुर्सदमा पछुताउने’ नेपालीको बानी परेको टिप्पणी गर्नुहुन्छ । उहाँले विगतकाे अनुभव, विश्व स्वास्थ्य संगठनको सुझाब र मन्त्रालयको मापदण्ड पालनामा लापरवाही भए भोलि भयावह स्थिति आउनसक्ने चेतावनी दिनुभयो । दर्शकको क्षणिक रमाइलोका लागि जनस्वास्थ्यलाई जोखिममा राख्न नहुने डा. गौतमले तर्क गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?