logo
२०८१ बैशाख १३ बिहीवार



रोमाञ्चक स्पर्धामा पुलिसमाथि एपीएफको एक विकेटको जित

खेलकुद |


रोमाञ्चक स्पर्धामा पुलिसमाथि एपीएफको एक विकेटको जित
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । अत्यन्तै रोमाञ्चक स्पर्धामा सशस्त्र प्रहरी बल(एपीएफ)ले नेपाल पुलिसलाई एक विकेटले हराएको छ । ओभरको अन्तिम बलमा एक रन ल्याउन आवश्यक छँदा एपीएफका शरद भेषावकारले छक्का लगाउँदै जित दिलाउनुभयो ।
पुलिसले प्रस्तुत गरेको २५९ रनको लक्ष्य पछ्याउँदै एपीएफले अन्तिम तीन ओभरमा मात्र दुई विकेट बाँकी छँदा १९ रन ल्याउन आवश्यक थियो । दिपेन्द्रसिंह ऐरीले ४८ औं ओभरमा १३ रन खर्चेपछि एपीएफले अन्तिम दुई ओभरमा मात्र छ रन ल्याउन आवश्यक भयो । ४९ औं ओभरमा पवन सर्राफले मात्र दुई रन खर्चेर एक विकेट लिएपछि पुलिसले खेलमा पुनरागमन गर्यो । तर रिटायर्ड हर्ट भएर जानुभएका शरद भेषावकार क्रिजमा पुनरागमनपछि राशिद खानको अन्तिम ओभरमा आठ रन ल्याउँदै एपीएफको जित सुनिश्चित गर्नुभयो । ओपनरद्वय सुभाष खकुरेल र आसिफ शेषले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेर उत्कृष्ट सुरुवात दिलाउनुभयो । खकुरेलले ५० र शेषले ४२ रनको योगदान दिनुभयो ।
सन्दीप जोराले सर्वाधिक ६१ रनको योगदान गरेर एपीएफलाई औसत योगफलसम्म पुर्याउनुभयो । पुलिसका लागि पवन सर्राफले नौ ओभरमा ४५ रन खर्चेर सर्वाधिक पाँच विकेट लिएपनि टोलिलाई जित दिलाउन सक्नुभएन । योगेन्द्रसिंह कार्कीले दुई तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो ।

त्यसअघि, मेयर कप क्रिकेट अन्तगर्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको नेपाल पुलिसले पुरै ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २५८ रनको सम्मानजनक योगफल तयार गर्यो । पुलिसले २२ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको थियो । तर ऐरीले पवन सर्राफसँग पाँचौं विकेटका लागि ७० रनको साझेदारी गर्नुभयो । ऐरिले १३१ बलमा ११ चौका र छ छक्कासहित १४० रनको उत्कृष्ट पारी खेलेर अविजित रहनुभयो ।
सर्राफले मात्र ३० बलमा चार छक्काको सहयोगमा ३५ रनको योगदान दिनुभयो । अनिल साहले २२ बलमा १८ रन बनाउनुभयो । एपीएफले १४ अतिरिक्त रन खर्चियो ।
एपीएफको बलिङ्गमा अविनाश बोहराले १० ओभरमा ५४ रन खर्चेर दुई विकेट लिनुभयो । कप्तान शरद भेषावकारले दश ओभरमा ४२ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । अमर रौटेलाले एक विकेट लिनुभयो ।
बागमती विरुद्धको पहिलो खेलमा मात्र ७२ रनमा समेटिएपनि दुई रनले जित हात पारेको पुलिसले दोस्रो खेलमा उत्कृष्ट ब्याटिंग गर्दै २५८ रनको सम्मानजनक योगफल तयार गर्न सफल भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?