logo
२०८१ बैशाख १३ बिहीवार



बागमतीको लगातार दोस्रो हार, मेयर एघार ९४ रनले जित्यो

खेलकुद |


बागमतीको लगातार दोस्रो हार, मेयर एघार ९४ रनले जित्यो
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । काठमाडौं महानगरको मेयर ११ टोलिले बागमतीमाथि ९४ रनको फराकिलो अन्तरको जित हात पारेको छ । नयाँ अनुहार सम्मिलित मेयर ११ ले आफ्नो पहिलो खेलमा राष्ट्रिय टोलिका प्रमुख क्रिकेटर रहेको बागमतीलाई हराएको हो ।
काठमाडौं मेयर ११ ले प्रस्तुत गरेको २४५ रनको लक्ष्य पछ्याउँदै बागमती प्रदेशले ३४ ओभर तीन बलमा मात्र १५० रन जोडन सक्यो । बागमतीका लागि पृथु बाँस्कोटाले बनाउनुभएको ६० रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । ओपनर समेत रहनुभएका कप्तान ज्ञानेन्द्र मल्लले १७ तथा आदिल खानले १५ रनको योगदान दिनुभयो । पारस खडकाले १०, इशान पाण्डेले १७ रन बनाउन अतिरिक्त पूछारका कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल छुन सकेनन ।
बागमतीलाई सस्तोमै समेटन कप्तान समेत रहनुभएका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक तीन तथा बिपीन खत्री र अनिल खरेलले दुई दुई तथा सिद्धान्त लोहनी र कृष्ण कार्कीले एक एक विकेट लिनुभयो ।
त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको काठमाडौंले पुरा ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २४४ रनको सम्मानजनक योगफल तयार गरेको थियो । ४३ रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गरेको मेयर ११ ले बागमती समक्ष औसत लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । मेयर एघारका लागि पूछारका ब्याट्सम्यानहरुले संयमित पारी खेल्नुभयो ।
मेयर ११ ले ओपनरद्वय हरिशंकर साह र अर्जून कुमाल तथा बिपीन रावलको रुपमा ३६ रनमै तीन विकेट गुमाउन पुग्यो । सन्दीप रजाली ३३ रन, कृष्ण कार्की डक आउट र बिवेक यादब एक रन बनाएर पेभेलियन फर्किदा मेयर ११ ले ४३ रनमै पाँच महत्वपूर्ण विकेट गुमायो । तर कप्तान सिद्धान्त लोहनीले सौरभ खनालसँग छैठौं विकेटका लागि ७१ रनको साझेदारी गरेर मेयर ११ को योगफल एक सय १४ रनसम्म लग्नुभयो । सिद्धान्त ३४ रन बनाएर पेभेलियन फर्किनुभयो । सौरभ खनाल ४९ रनमा अविजित रहँदा कप्तान सन्दीप लामिछानेले मात्र २० बलमा छ छक्कासहित ४२ रनको उत्कृष्ट पारी खेल्नुभयो । बिपीन खत्रीले ३० बलमा ३२ रनको योगदान दिनुभयो ।
बागमतीका लागि नन्दन यादबले दश ओभरमा मात्र ४१ रन खर्चेर महत्वपूर्ण चार विकेट लिनुभयो । रामनरेश गिरी र अरियो पौडेलले सामान दुई दुई तथा दिपेश श्रेष्ठले एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?