logo
२०८१ बैशाख ८ शनिवार



प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा त्रिभुवन आर्मीको जित

खेलकुद |


प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा त्रिभुवन आर्मीको जित
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २ गते । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ९८ रनको विशाल अन्तरले हराएको छ । आर्मीले प्रस्तुत गरेको २८८ रनको लक्ष्य पछ्याउँदै गण्डकी प्रदेशले ४८ ओभरमा मात्र १८९ रनमा सीमित हुन पुग्यो ।
त्रिवि क्रिकेट ग्राउण्ड कीर्तिपुरमा समूह ए अन्तगर्तको खेलमा विशाल लक्ष्य पछ्याउने क्रममा गण्डकीले सात रनमै पहिलो विकेट गुमाएर कमजोर सुरुवात गर्न पुग्यो । दिपेश खत्री ११ बलमा मात्र एक रन बनाएर पेभेलियन फर्किनुभयो । समीर कँडेलले अद्र्धशतकीय पारी खेलेर मध्यक्रममा केही स्थिरता दिएपनि मध्यक्रम र पुछारमा कप्तान विपीन खत्रीको ३७ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभावकारी प्रदर्शन गर्न सकेनन् । अर्का ओपनर अर्जून कुमालले ३६ रन बनाउनुभयो ।
त्रिभुवन आर्मीका लागि राजेश पुलामीले नौ ओभरमा दुई मेडन राख्दै २५ रन खर्चेर गण्डकीका पाँच जना ब्याट्सम्यानलाई पेभेलियन फर्काउनुभयो । भिम सार्कीले तीन, आकाश चन्द र रोहित पौडेलले सामान एक एक विकेट बाँड्नुभयो । जितेन्द्र मुखियाले छ ओभरमा मात्र १५ रन खर्चिनुभयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको त्रिभुवन आर्मीले उत्कृष्ट सुरुवात गर्यो । ओपनरद्वय हरिकृष्ण झा र राजु रिजालले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे । हरिकृष्णले ४८ बलमा मात्र १४ रन बनाउँदा रिजालले ७१ ब्लको सामना गर्दै ४५ रनको पारी खेल्नुभयो । मध्यक्रममा विनोद भण्डारीले शतकीय पारी खेलेर आर्मीलाई विशाल योगफल तर्फ डोरयाउनुभयो । उहाँले मात्र ७६ बलको सामना गर्दै नौ चौका र पाँच छक्काको सहयोगमा १११ रनको पारी खेल्नुभयो । भण्डारी अविजित रहनुभयो । राजेश पुलामीले ३८ तथा लोकेश बलमे ४२ रन बनाउँदै आर्मीको योगफल छ विकेटको क्षतिमा २८७ रनसम्म पुर्याउनुभयो ।
गण्डकीका लागि विपीन खत्री र विशाल पौडेलले सामान दुई दुई तथा दिपेश खत्री र चन्द्र पौडेलले सामान एक एक विकेट लिए । भण्डारी प्लेयर अफ द् म्याच घोषित हुनुभयो । प्रतियोगिता अन्तगर्तको दोस्रो खेलमा नेपाल सशस्त्र प्रहरी बलले प्रदेश १ को सामना गर्नेछ ।
दुई समूहमा विभाजन गरिएको दश वटा टोलिले प्रतियोगिताको लिग चरणमा चार चार खेल खेल्नेछ । उत्कृष्ट चार टोलि सेमीफाइनलमा पुग्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागीय टोलिले स्पर्धा गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?