logo
२०८० चैत्र १६ शुक्रवार



स्पोर्टस् अवार्डको रौनक

खेलकुद |


स्पोर्टस् अवार्डको रौनक


प्रजित शाक्य

काठमाडौँ, पुस २९ गते  । नेपालका खेल पत्रकारहरूको संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खेलसम्बन्धी समाचार, लेख्नेबाहेक हरेक वर्ष एउटा फरक काम गर्छ । त्यो हो स्पोर्टस् अवार्ड । जसमा वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षकलाई पुरस्कृत गर्ने गर्दछ, भव्य समारोहबीच ।
स्पोर्टस् अवार्डको अर्को एउटा संस्करण मङ्गलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय स्पोर्टस् कम्प्लेक्समा सकियो ।  यस पटक विजेताहरूमा १३औँ दक्षिण एसियाली खेलकुदमा गौरव हािसल गर्ने खेलाडीहरूको वर्चस्व रह्यो । कराँतेका मण्डेकाजी श्रेष्ठ सर्वश्रेष्ठ पुरुष खेलाडी, जलपरी गौरिका सिंह सर्वश्रेष्ठ महिला खेलाडी, गल्फका सुवाष तामाङ सर्वश्रेष्ठ युवा खेलाडी र तेक्वान्दोका नवीनकुमार श्रेष्ठ सर्वश्रेष्ठ प्रशिक्षक घोषित हुनुभयो ।
स्पेसल अवार्ड पनि यस पटक सागमै चम्किएकी धाविका सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यलाई संयुक्त रूपमा प्रदान गरियो । पिपल्स च्वाइस अवार्डको पुरस्कार नेपालको महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले पाउनुभयो । टेबलटेनिसकी हस्ती खेलाडीद्वय सिजरिन शाह र गीता क्षेत्रीलाई लाइफटाइम एचिभमेन्ट र डिगमसिंह चेम्जोङलाई पारा एथलेट सम्मान प्रदान गरियो । यसैगरी एसियन स्पोर्टस् जर्नलिस्ट अवार्ड मलेसियाका खेल पत्रकार अहमद खवारी इसालाई दिइएको थियो । वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरियो । अन्य विधाका विजेताले ५० हजार रुपियाँसहित गिफ्ट ह्याम्पर पाए ।

मन्डेकाजी श्रेष्ठ (कराँते), वर्षका उत्कृष्ट पुरुष खेलाडी
१३औँ सागमा दुई स्वर्ण पदक (टिम काता र एकल), बङ्गलादेशमा भएको साफ च्याम्पियनसिपमा कांश्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता), नवौँ थाइल्यान्ड ओपन च्याम्पियनसिपमा रजत (सिनियर काता) र उत्कृष्ट खेलाडी तथा आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक (एकल काता) र रजत (टिम काता) जितेपछि मन्डेकाजी यसपटक उत्कृष्ट खेलाडी बन्नुभयो । मन्डेकाजीले गोपीचन्द्र पार्की (एथलेटिक्स), कमल श्रेष्ठ (तेक्वान्दो), सुवास तामाङ (गल्फ) र विकेश कुथु (फुटबल) लाई पछाडि पार्नुभएको हो ।

गौरिका सिंह (पौडी), वर्षकी उत्कृष्ट महिला खेलाडी
वर्षको उत्कृष्ट महिला खेलाडीको पुरस्कार जित्न गौरिकाले सन्तोषी, आयषा, ट्रायथलनकी सोनी गुरुङ र कराँतेकी अनु अधिकारीलाई पछाडि पार्नुभयो । २०७६ साल जलपरी गौरीकाका लागि स्वर्णमय रह्यो । उहाँले १३औँ सागमा चार स्वर्णको कीर्तिमानसहित दुई रजत र तीन कांस्य जित्न सफल हुनुभयो । आठौँ राष्ट्रिय खेलकुदमा पनि गौरिकाले सहभागी सबै स्पर्धा अर्थात् १२ स्वर्ण पदक जित्नुभएका थियो ।

सुभाष तामाङ (गल्फ) सर्वश्रेष्ठ युवा खेलाडी
गल्फका सुभाष सर्वश्रेष्ठ युवा खेलाडी चुनिनुभयो । सो विधाको मनोनयनमा तेक्वान्दोकी सिना लिम्बु, तेक्वान्दोकै भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सञ्जु चौधरी पनि हुनुहुन्थ्यो । सुभाषले गत सागमा दुई स्वर्ण (व्यक्तिगत र समूहगत) पदक जित्नुभएको थियो । गल्फमा पहिलो पटक नेपाललाई ऐतिहासिक स्वर्ण पदक हात परेको हो । सोही वर्ष सुभाष फाल्डो सिरिज छनोट २०७६ र सूर्य नेपाल प्रिमियर लिग समग्रमा पनि च्याम्पियन बन्नुभएको थियो । सुभाषले आर्मीका लागि खेल्दै राहुल विक र निश्चयजङ्ग रायमाझीसँग मिलेर आठौँ राष्ट्रिय खेलकुदमा पनि रजत पदक जित्नुभएको थियो ।

नवीन श्रेष्ठ (तेक्वान्दो), सर्वश्रेष्ठ प्रशिक्षक
नवीन श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षक बन्ने होडमा कराँतेका मदन उप्रेती, उसुका अमरकुमार थिङ, पौडीका शङ्कर कार्की र बक्सिङका प्रकाश थापामगरले चुनौती दिनुभएको थियो । तर यस वर्ष सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक प्राप्त भएपछि नवीन नै सर्वश्रेष्ठ प्रशिक्षक चुनिनुभयो । नवीनको प्रशिक्षकत्वमा रहेको तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक प्राप्त गरेका थिए ।

लाइफटाइम एचिभमेन्ट
गीता क्षेत्री, सिजरिन शाह (टेबलटेनिस)
खेलकुद पत्रकार मञ्चले पहिलो पटक संयुक्त रूपमा रूपमा गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । स्पोर्टस् अवार्डमा लाइफटाइम एचिभमेन्टबाट पहिलो पटक महिला खेलकर्मी सम्मानित भएका हुन् । यी दुईले मिलेर सन् १९९१ मा नेपाली खेलकुद इतिहासमै एक सर्वकालीन गौरवशाली उपाधि हात पारेका थिए । श्रीलङ्काको कोलम्बोमा भएको पाँचौँ दक्षिण एसियाली खेलकुदमा नेपालले दुई स्वर्ण पदक जितेकोमा यी दुवै महिला खेलाडीको नाममा रह्यो । श्रीलङ्काको कोलम्बोमा गीता र सिजरिनले आत्मसात गरेको त्यो उपलब्धि दक्षिण एसियाली खेलकुदमा महिलाले नेपालका लागि जितेको पहिलो स्वर्णका रूपमा रहेको छ ।

स्पेसल अवार्ड सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
१३औँ सागमा दस हजार मिटर दौडको अन्त्य फिल्मको रोमाञ्चक क्लाइमेक्स जस्तै भयो । सन्तोषीले श्वास रोकिने प्रतिस्पर्धामा अन्तिम समयको अन्तिम सकेन्डमा फोटो फिनिसमा स्वर्ण पदक जित्नुभयो । नेपाली खेलाडीलाई कठिन मानिने ट्र्याक एन्ड फिल्डमा सन्तोषीले एसियामै नाम कमाएकी श्रीलङ्काकी हिरुनी केसारा भारतकी कविता यादव पनि पछाडि पार्नुभयो । ७० वर्षभन्दा लामो इतिहास बोकेको एथलेटिक्समा स्वर्ण पदक जित्ने सन्तोषी नेपालकी पहिलो महिला धाविका बन्नुभयो ।

आयशा शाक्य (तेक्वान्दो)
१३औँ सागमा तेक्वान्दोकी आयशाले दुई स्वर्ण पदक जित्नुभयो । दुई सन्तानकी आमा बनेर तेक्वान्दोमा पुनरगमन गरेकी आयशाको यो सफलता साँच्चिकै विशेष थियो । सन् २००६ मा नै एसियाली खेलकुदमा कांश्य जितेर आयशाले आफ्नो छाप छोडिसक्नुभएको थियो । नौ वर्षअघि नै सागमा पनि उहाँले स्वर्ण जितिसक्नुभएको छ । तर यसपटक दुई सन्तानकी आमा बनेपछि उहाँले देशलाई दिलाएको दुई स्वर्णले उहाँ बहादुर आमा बन्नुभयो ।

डिगमसिंह चेम्जोङ (पारा एथलिट सम्मान)
२१ वर्षको उमरमा कतार पगेका डिगमसिंहले अर्को वर्ष नै भयङ्कर सडक दुर्घटनामा पर्नुभयो । अनि उहाँको आधा शरीर आजीवन नचल्ने भयो । त्यसपछि पनि उहाँले हार मान्नुभएन । खेलकुदलाई आफ्नो लक्ष्य बनाउनुभयो । ह्विचल चियरमा बसेर क्रिकेटको ब्याट चलाउनुभयो । बास्केटबलको नेटमा आफ्नो उचाइ खोज्नुभयो । टेबलटेनिस कोर्टमा बल घुमाउनुभयो । स्पाइकल कर्ड पारा पौडीमा स्वण पदक जित्नुभयो । यस दस वर्षको अवधिमा उहाँले पाराको नखेलेको खेल छैन । उहाँ पारा क्रिकेट टोलीका कप्तान, बास्केटबलका प्रमुख खेलाडी र टेबलटेनिसका स्टार पारा खेलाडी हुनुहुन्छ । ह्विलचियर क्रिकटमा उहाँले पाकिस्तानका कराँची इगल्सबाट खेलेर पहिलो व्यावसायिक नेपाली पारा खेलाडी पनि बन्नुभयो । गत वर्ष भएको एसियाली ह्विलचियर क्रिकेटमा उहाँले अलराउन्ड प्रदर्शन गर्नुभयो । गत वर्ष पोखरामा भएको पारा टेबलटेनिसमा डिगमसिंहले रजत पदक जित्नुभएको थियो ।

अरुणा शाही (पिपल्स च्वाइस अवार्ड विजेता)
पिपल्स च्वाइस भलिबलकी अरुणाले पाउनुभयो । ई–सेवाबाट आएको मत, फेसबुक लाइक, प्रशिक्षकहरू तथा खेल पत्रकारको मतबाट पिपल्स च्वाइस निर्धारण गरिएको हो । अरुणाले ३७.५२५ प्रतिशत मत पाउनुभयो । मन्डेकाजी २८.४५ प्रतिशत मतका साथ दोस्रो स्थानमा रहनुभयो । यसगरी बास्केटबलकी सदिना श्रेष्ठले १३.४९ प्रतिशत, पौडीकी गौरिका सिंहले १३.३० प्रतिशत र महिला फुटबलर सावित्रा भण्डारीले ७.२ प्रतिशत मत पाउनुभएको थियो । स्पोर्टस् अवार्डअन्तर्गत यो विधामा भलिबल खेलाडीले उपाधि जितेको यो पाँचौँ पटक हो ।

टिम अफ दी इयर (नेपाल महिला भलिबल टिम)
नेपाली महिला भलिबल अब सही दिशातर्फ लम्किँदै छ भन्ने गत वर्ष प्रस्ट भयो । गत सागमा स्वर्ण पदक नजितेपछि भारतविरुद्ध पाँच सेटसम्म खेलेर रजत पदक हात पा¥यो । रजत पदक पनि नेपाली महिला फुटबलको इतिहासमा अहिलेसम्म सबभन्दा ठूलो पदक हो । यसैगरी महिला भलिबलले बङ्गलादेशमा प्रथम एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर इतिहास कायम गरेको थियो ।  महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?