logo
२०८१ बैशाख १३ बिहीवार



छैटाैं नेपालगञ्ज म्याराथनको उपाधि जितेसँगै सशस्त्रका पार्की ओलम्पिकका लागि छनोट

खेलकुद |


छैटाैं नेपालगञ्ज म्याराथनको उपाधि जितेसँगै सशस्त्रका पार्की ओलम्पिकका लागि छनोट
तस्विर-फाइल


नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, मंसिर ६ गते । छैटाैं नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जित्नुभएको छ । नेपालगञ्ज म्याराथनको स्वर्ण विजेता पार्की अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट हुनुभएको छ । टोकियो ओलम्पिकमा एथ्लेटिक्स विधातर्फ खेलाडीले भाग लिने नेपालगञ्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।

निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर शनिबार बिहान नेपालगञ्जमा भएको प्रतिस्पर्धामा पार्की पहिलो हुनुभएको हो । उहाँ १३ औँ सागका स्वर्णपदक विजेता हुनुहुन्छ ।
नेपालगञ्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो हुनुभएको छ । उहाँ निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गर्नुभएको थियो ।
यसैगरी हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जित्नुभएको छ । शनिबार बिहान भएको प्रतिस्पर्धामा निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरेर उहाँले उपाधि जित्नुभएको हो । १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपियाँ प्राप्त गर्नुभएको छ ।
दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गर्नुभएको छ । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै १५ हजार रुपैयाँ जित्नुभएको छ ।
लुम्बिनी प्रदेशकी शर्मिला घर्तीले तेस्रो स्थान हासिल गर्नुभएको छ । शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्नुभएको हो । उहाँले १० हजार रुपियाँ पाउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?