logo
२०८० चैत्र १५ बिहीवार

  नेपाल-बङ्लादेश फुटबल दोस्रो खेल  



नेपाललाई हारकाे बदला लिने अवसर

खेलकुद |


नेपाललाई  हारकाे बदला लिने अवसर
तस्बिर : एनफा


प्रजित शाक्य
काठमाडौँ, मङ्सिर १ गते । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत मङ्गलबार नेपाल र बङ्गलादेशबीच दोस्रो र अन्तिम खेल हुँदैछ । नेपालले दोस्रो खेल पनि बङ्गबन्धु रङ्गशालामा बङगलादेशसँग उसकै घरेलु मैदानमा खेल्दैछ । पहिलो खेलमा २–० ले हारेपछि नेपालको बोहनी खराब भएको थियो । नेपाल पाँच वर्षपछि बङ्गलादेशसँग पराजित भएको हो । त्यसैले सो पराजयले नेपाली फुटबल टिम मात्र होइन समर्थक पनि निराश छन् । तर नेपाली फुटबल टिमसमक्ष सो हारलाई बिर्साउने अवसर पाँच दिनपछि नै पाएको छ । नेपाली खेलाडीहरुले मङ्गलबार आप्mना समर्थकको सोही निराशालाई खुशीमा बदल्न जिम्मेवारी बोध गरेर खेल्ने आशा गरिएको छ ।
मुजिब बोर्सो ट्रफी उचाल्न नेपाललाई भोलि बङ्गलादेशलाई कम्तिमा दुई गोलको अन्तरले हराउन आवश्यक छ । नेपालले भोलिको खेल दुई गोलको अन्तरले जितेमा विजेताको छिनोफानो पेनाल्टी सुटआउटमा हुनेछ । पहिलो खेल जितेपछि घरेलु टिमलाई भने जित र हारले ट्रफी दिलाउने नै भयो । एक गोल अन्तरले मात्र हारेपछि ट्रफी बङ्गलादेशले नै उचाल्नेछ ।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले पनि दोस्रो खेलमा बङ्गलादेशविरुद्ध उत्कृष्ट नतिजा निकालेर नेपाली फुटबललाई पुनः सही बाटोमा फर्काउने बताउनुभएको छ । ‘हामी तयार छौँ । भोलिको खेल पहिलो खेल जस्तो हुने छैन । अवश्य नेपाली टिमको प्रदर्शनमा फरक पाउनुुहुनेछ । हामीले पहिलो खेलमा भएका कमी कमजोरीको लेखाजोखा गरिसकेका छौँ । त्यसैले पहिलो खेलमा भएको गल्ती सुधार्नेछौँ भोलिको खेलमा गल्ती नदोहरिने र पाएका अवसर सदुपयोग हुनेमा आशावादी छु ।’नेपालका प्रशिक्षक महर्जनले भन्नुभयो ।
पहिलो खेलमा के गल्ती भए त ? प्रशिक्षक महर्जनका अनुसार फिटनेश, डिफेन्समा कमजोरी र जोनल मार्किङमा चुक्दा नेपालको प्रदर्शन कमजोर देखियो । यसैगरी, नयाँ र सिनियर खेलाडीबीच तोलमेलको अभाव, जुझारुपन र अनुभवको कमीले पनि नेपाली टिमलाई पहिलो खेलमा असर पारेको भनाई प्रशिक्षक महर्जनको रहेको छ । यी सबै कमजोरी कम तयारीका कारण भएको हो । कोभिड १९ ले निकै छोटो तयारीका साथ हामी बङ्गलादेश आएका हौँ । लामो तयारी भएको भए यी कमजोरी हुने थिएन भन्नुहुन्छ प्रशिक्षक महर्जन । प्रशिक्षक महर्जनले संक्रमणको एक वर्षपछि विदेशी भूमिमा खेल्न कठिन हुन्छ भन्ने पक्षलाई मनन् गरेर समर्थकहरुले नेपाली टिमको मूल्याङ्कन गर्नु पनि अनुरोध गर्नुभएको छ ।
हुन पनि कमजोर तयारीबीच कुनै देशको राष्ट्रिय फुटबल टिमविरुद्ध उसकै मैदानमा विपक्षी समर्थकको अगाडि खेल्नु कुनै पनि टिमलाई सहज हुँदैन । अझ विदेशी हावापानीमा अभ्यस्त नहुने भएकोले पनि खेल्न गाह्रो हुन्छ । नेपालले पनि सोही कठिनाई वेहोरेको हो । बङगलादेशमा नेपाल प्रतिकूल परिस्थितिबीच खेल्न पुगेको हो । बङ्गलादेशविरुद्ध मैत्री खेल्न बोलाइएका खेलाडीमध्ये सात खेलाडी कोरोना संक्रमित देखिएपछि पनि नेपाली टिममा संकट थपिएको थियो । यीमध्ये सबै खेलाडी पहिलो रोजाईका खेलाडी हुन् । प्रमुख मिडफल्डर रोहित चन्द पनि चोटका कारण टिममा नहुँदा प्रशिक्षक बालगोपाल महर्जनलाई थप चिन्तामा पारेको थियो ।
यसैगरी गत बिहिबार ढाकामा रहेका नेपालका रजिन धिमालमा पनि कोरोना संक्रमण देखिएको थियो । तर अहिले दोस्रो खेल्न खेल्न उहाँ कोरोनामुक्त भइसकेको बताइएको छ । नेपाली टिम आठ नयाँ खेलाडीका साथ बङगलादेश पुगेको हो । जसमध्ये पहिलो खेलमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले राष्ट्रिय टिमबाट पदार्पण गर्ने मौका पाउनुभएको थियो । दोस्रो खेलमा दीप कार्की, दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ पहिलो पटक सिनियर राष्ट्रिय टिमको जर्सीमा मैदान प्रवेश गरेर आप्mनो खेल जीवनलाई विशेष गर्ने पखाईमा हुनुहुन्छ ।
प्रशिक्षक महर्जनले दोस्रो खेलमा नेपाली टिममा पहिलो एघारमा नै परिवर्तन हुनसक्ने भनाई राख्नुभएको छ । त्यसैले पनि यीमध्ये केही खेलाडीले भोलि राष्ट्रिय टिमबाट पदार्पण गर्नसक्ने सम्भावना छ ।
नेपाली टिमका मिडफिल्डर सुजल श्रेष्ठले पनि पहिलो खेल सोचेजस्तो नभएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो–हामी मान्छौँ, पहिलो खेलमा हामीले राम्रो खेल्न सकेनौँ । लामो समयपछि मैदानमा फर्कनु परेकोले पनि यसो भएको होला । तर कोसिस नगरेको भने होइन । तर जितहार खेलको एक पाटो नै हो । हामीले चाँडै नै बदला लिन अवसर पाएका छौँ । त्यसैले भोलि जित्नका लागि खेल्नेछौँ । पहिलो खेलमा एक्लो स्ट्राइकरको रुपमा खेलेका नवयुग श्रेष्ठले पनि अब अन्तिम मौका छ र त्यसको सदुपयोग गरेर नेपालको प्रतिष्ठा फर्काउनेछु, भन्नुभयो ।
बङ्गलादेशका प्रमुख प्रशिक्षक जेमी डेको भने दोस्रो खेलमा उपस्थिति रहने छैन । दोस्रो खेलअघि गरिएको कोरोना परिक्षणमा उहाँमा संक्रमण देखिएको हो । फिफा विश्वकप विश्वकप २०२२ र एएफसी एसियाली कप फुटबलको छनोटअन्तर्गत नेपाल र बङ्गलादेशले दोस्रो चरणमा बाँकी रहेका खेलका लागि यो मैत्री खेल खेलेका हुन् । नेपालले घरेलु मैदानमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनविरुद्ध खेल्न बाँकी छ । यी तीन खेलपछि नेपालको विश्वकप छनोट यात्रा टुङ्गिनेछ । समूह बी मा नेपालको पाँच खेलबाट मात्र तीन अङ्क छ । नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अस्ट्रेलिया चार खेलमा १२ अङ्क बनाएर शीर्ष स्थानमा छ । कुवेत दोस्रो र जोर्डन तेस्रो स्थानमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?