logo
२०८१ बैशाख १२ बुधवार



धोनीको चेन्नईद्वारा कोहलीको बैंग्लौर पराजित

खेलकुद |


धोनीको चेन्नईद्वारा कोहलीको बैंग्लौर पराजित
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ९ गते । इन्डियन प्रिमियर लिगको १३ औं संस्करणमा कमजोर प्रदर्शन गर्दै आएको चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लौरलाई आठ विकेटले हराएको छ । चेन्नईले आफ्नो १२ औं खेलमा मात्र चौथो जित हात पार्न सकेको हो । उसको प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ ।
बैंग्लौरले प्रस्तुत गरेको १४७ रनको लक्ष्य चेन्नईले खेल सकिन छ बल बाँकी छँदा मात्र दुई विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनरद्वय रुतु गाइकवड र फाफ डु प्लेसिसले ४६ रनको साझेदारी गरी राम्रो सुरुवात दिलाउनुभयो । डुप्लेसिस २५ रन बनाएर पेभेलिन फर्किदा अर्का ओपनर गाइकवड अविजित रहँदै मात्र ५१ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६५ रनको योगदान दिनुभयो । अम्बाटी रायडू मात्र २७ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाएर पेभेलियन फर्किदा चेन्नईलाई जितका लागि ४५ बलमा मात्र ३४ रन आवश्यक थियो । कप्तान धोनीले १९ रन बनाएर अविजित रहनुभयो ।
बैंग्लौरका लागि क्रिस मोरिस र युज्वेन्द्र चाहलले सामान एक एक विकेट लिनुभयो ।
यसअघि दुबईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको बैंग्लौरले औसत सुरुवात गर्दागर्दै २० ओभरमा छ विकेटको क्षतिमा मात्र १४५ रनको योगफल तयार गर्न सक्यो । उसको पारीमा कप्तान विराट कोहलीले सर्वाधिक ५० तथा अब्राहम डिभिलियर्सले ३९ रनको योगदान दिनुभयो । चेन्नईका बलरहरु शाम कर्रनले उत्कृष्ट बलिङ् गर्दै तीन ओभरमा मात्र १९ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । अर्का बलर दिपक चाहरले दुई तथा मिसेल शान्टनरले एक विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच गाइकवड घोषित हुनुभयो । आइतबार राति नै प्रिमियर लिगको ४४ औं खेलमा मुम्बईले राजस्थानको सामना गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?