logo
२०८० चैत्र १५ बिहीवार



पूर्वी कंगोबाट एक हजार ३०० कैदी फरार

अन्तर्राष्ट्रिय |


पूर्वी कंगोबाट एक हजार ३०० कैदी फरार


बेनी, कंगो, कात्तिक ४ गते। अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडिएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई भगाएका छन् ।
बेनी शहरका मेयर मोडेस्टे बकवानामाहाले काङबायी कारागारमा भिडन्तका क्रममा एक कैदीको ज्यान गएको जानकारी दिनुभयो । उहाँले जेलबाट फरार कुनै शंकास्पद व्यक्ति देखे स्थानीय प्रशासन, प्रहरीमा खबर गर्न नगरबासीलाई अनुरोध गरिएको पनि बताउनुभयो ।
मेयर मोडेस्टेले कारागारबाट भागेका २० जना कैदी भने फर्किएको जानकारी दिनुभयो । स्थानीय प्रशासनको सम्पर्कमा आएका कैदीबन्दीहरुले विद्रोहीसँगको जीवन आफ्ना लागि अझ खतरापूर्ण र दुःखदायी रहेकाले फर्किएको बताएका छन् । काङबायी जेल तोडिएको समाचार आएलगत्तै स्थानीयबासीमा त्रास उत्पन्न भएको छ । सरकारी फौज र एडिएफबीच हिंसात्मक झडप हुने र त्यसबाट स्थानीयबासी प्रताडित हुने खतरा रहेको स्थानीयको भनाई छ ।
स्थानीयबासी सदी अमुन्डालाले यो बेनीका स्थानीयका लागि खतरा हो भन्नुभयो । जेल जीवनमा सुधार ल्याउन तथा स्थानीय तहमा सुरक्षा व्यवस्था बढाउन सरकारले विशेष पहल गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । यसअघि तीन वर्ष पहिले पनि काङबायी कारागारमा आक्रमण गरेर १०० भन्दा बढी कैदीबन्दी भगाइएको थियो । त्यसबखत दर्जनौं व्यक्तिको मृत्यु भएको थियो ।
एडीएफ नामले परिचित अलाइड डेमोक्रेटिक फोर्सको जन्म छिमेकी युगान्डाबाट सुरु भएको र यो समूह लामो समयदेखि पूर्वी कंगोका लागि सुरक्षा खतरा बन्दै आएको छ । इस्लामिक स्टेट समूहले कारागारमाथिको हमलाको जिम्मेवारी लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप