logo
२०८१ बैशाख १२ बुधवार



देल्ही र बैंग्लौरको सशक्त प्रदर्शन, चेन्नई र मुम्बई संघर्षरत्

खेलकुद |


देल्ही र बैंग्लौरको सशक्त प्रदर्शन, चेन्नई र मुम्बई संघर्षरत्


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १८ गते । बहुप्रतीक्षित इन्डियन प्रिमियर लिगको १३ औं संस्करण निर्धारित समयभन्दा करिब छ महिनापछि सुरु भएको छ । प्रतियोगितामा हालसम्म १६ वटा खेल सम्पन्न भएको छ । आठ वटै टोलीले चार चार खेल खेलिसकेको छ । साबिक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सको प्रदर्शन फितलो देखिएको छ । तर पछिल्लो संस्करणमा गतिलो प्रदर्शन दिन नसकेको देल्ही र बैंग्लौरले आफ्नो प्रदर्शनमा अपेक्षाकृत सुधार ल्याउँदै अङ्कतालिकाको शीर्ष दुई स्थानमा  छन् ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने देल्हीमा आबद्ध हुनुहुन्छ । हालसम्म उहाँले अन्तिम एघारमा स्थान सुनिश्चित गर्न सक्नुभएको छैन् । देल्ही मक्ष अक्षर पटेल र रबिचन्द्रन आश्विन गरी दुईजना बलिंग अलराउण्डर विद्यमान रहँदा सन्दीप ओझेलमा परेका छन् । रबिचन्द्रन आश्विन समेत अन्तिम एघारमा स्थान सुनिश्चित गर्न संघर्षरत् हुनुहुन्छ । उहाँलाई अमित मिश्राले विस्थापित गर्दै आउनुभएको छ ।


उपाधि विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले पछिल्ला संस्करणहरुको जस्तै सशक्त प्रदर्शन गर्ने अपेक्षा विपरीत दुबै टोलीले लय समात्न सकेको छैनन । चार खेलमध्ये देल्ही र बैंग्लौर दुबैले तीन तीन खेलमा जित हात पारेर अङ्कतालिकाको शीर्ष दुई स्थानमा छन् । मुम्बई, हैदराबाद सनराइजर्स, कलकत्ता नाइट राइडर्स र राजस्थान रोयलले सामान दुई खेल जितेर क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटाै स्थानमा छन् ।
पञ्जाब र चेन्नई सुपर किंग्स भने चारमध्ये एक खेलमा मात्रै जित हात पार्न सकेको छ । दुबै टोलि पुछारमा छन् । भारतीय क्रिकेट टोलिलाई लामो समयसम्म नेतृत्व दिनुभएका महिन्दर सिंह धोनीको चेन्नईको ब्याटिंगले लय समात्न सकेको छैन् । उद्घाटन खेलमा साबिक विजेता मुम्बईलाई जितेर प्रशंसा बटुलेको चेन्नईले त्यसयताको तीन वटै खेलमा हार बेहोरेको छ । चेन्नई राजस्थान रोयल, देल्ही क्यापिटल्स र हैदराबादसँग हार बेहोरेको हो ।
उता मुम्बई भने पहिलो खेलमा हार बेहोरेपनि दोस्रोमा कलकत्तालाई हरायो । तेस्रो खेलमा बैंग्लौरसँग सुपर ओभरमा हार बेहोर्न पुग्यो । चौथो खेलमा भने पञ्जाबलाई हराएर पुरानो लयलाई निरन्तरता दिन प्रयत्नशील देखिन्छ ।
शीर्ष स्थानको देल्हीले भने पहिलो खेलमा पञ्जाबलाई सुपर ओभरमा हराएर उच्च आत्मबलसहित प्रिमियर लिगको सुरुवात गरेर चार खेलमध्ये तीनमा जित हात पारेको छ । दोस्रो खेलमा हार बेहोरेको देल्हीले तेस्रो खेलमा चेन्नईलाई र चौथो खेलमा कलकत्तालाई हराएको छ । श्रेयास ऐयर कप्तान रहेको देल्ही टोलिमा अधिकांश युवा खेलाडीहरु छन् ।
भारतीय क्रिकेट टोलिका कप्तानसमेत रहनुभएका विराट कोहलीको बैंग्लौरले पहिलो खेलमा देविड वार्नरको हैदराबादलाई पराजित गरेर गतिलो सुरुवात गरेको छ । दोस्रो खेलमा पञ्जाबसँग ९७ रनको विशाल अन्तरले पराजित भएपनि तेस्रो खेलमा मुम्बई र चौथो खेलमा अष्ट्रेलियाली अलराउण्डर स्टिभ स्मिथको राजस्थानलाई हराएर दोस्रो स्थान उक्लिन सफल भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?