logo
२०८१ बैशाख ४ मंगलवार



सप्तरी जिल्ला प्रशासनले स्थानीय तहको दिन तोकेर सेवा दिँदै

प्रदेश |


सप्तरी जिल्ला प्रशासनले स्थानीय तहको दिन तोकेर सेवा दिँदै


धीरेन्द्रप्रसाद साह
राजविराज, असोज ११ गते । सेवाग्राहीको बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय, सप्तरीले आइतबारदेखि स्थानीय तहहरुको दिन तोकेर कार्य सम्पादन गर्न थालेको छ ।
कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सेवाग्राहीको भिडभाड कम गरेर सेवा दिने उद्देश्यले यस्तो रणनीति अपनाइएको कार्यालयले जनाएकाे छ । कार्यालयले सेवाग्राहीको अत्यधिक भिडभाड हुन थालेपछि स्थानीय तहलाई साताको छ दिनमा विभाजन गरी सोही अनुसार कार्य सम्पादन सुरु गरेको छ ।

भिडभाडमा कोरोना सङ्क्रमणको उच्च जोखिम हुने भएकोले यसबाट बच्न र बचाउनका लागि थप स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन यस्तो रणनीति बनाइएको सूचना अधिकारी प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले भन्नुभयो, यस रणनीति अनुसार एक दिनमा बढीमा तीन वटा स्थानीय तहको कार्य सम्पादन गरिन्छ । यसले भिडभाड पनि कम हुन्छ र कार्य सम्पादन गर्न पनि सजिलो हुन्छ ।

कार्यालयले आइतबार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिका, सोमबार रुपनी, तिरहुत गाउँपालिका र खडक नगरपालिका, मङ्गलबार हनुमाननगर कङ्कालिनी नगरपालिका र महादेवा गाउँपालिकाको कार्य सम्पादन गरिने बताइएको छ ।

यसैगरी, बुधबार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, बिहीबार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रबार अग्निसाईर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाका सेवाग्राहीको कार्य सम्पादन गर्ने गरी दिन तोकेको बताइएको छ ।

कोरोना सङ्क्रमणको वर्तमान अवस्थालाई दृष्टिगत गरी सेवाग्राही स्वयम्को स्वास्थ्य सुरक्षा हुने अभिप्रायले स्थानीय तह-वडा कार्यालयहरुले आवश्यकता र औचित्यका आधारमा मात्र सिफारिस गरी सेवाग्राहीलाई पठाई सुरक्षा सतर्कतासम्बन्धी मापदण्ड पालन गर्न गराउन सहयोग गरिदिनुहुन आग्रह गरेको छ ।

कोरोना सङ्क्रमणको कारण सो कार्यालयका एक कर्मचारीको मृत्यु भइसकेको छ भने एक प्रशासकीय अधिकृतसहित अन्य केही कर्मचारीहरू पनि सङ्क्रमित भई न्यून जनशक्तिबाट कार्यालय सञ्चालन भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?