logo
२०८१ बैशाख १३ बिहीवार



सन्दकपुर गाउँपालिकाद्वारा सागका पदक विजेता खेलाडीलाई सम्मान

खेलकुद |


सन्दकपुर गाउँपालिकाद्वारा सागका पदक विजेता खेलाडीलाई सम्मान


गोरखापत्र अनलाइन
पशुपतिनगर(इलाम), साउन १० गते । इलामको सन्दकपुर गाउँपालिकाले एक पत्रकारसहित १३  औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

तेह्राैँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडी छिरिङ गुरुङ र कास्य विजेता विजय बुर्जालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । सन्दकपुर गाउँपालिका–५, जमुना निवासी नेपाली पुरुष फुटबल टोलीका डिफेन्डर छिरिङलाई ५० हजार र वडा नं ३ सुलुबुङका बुर्जालाई २० हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । यस्तै वातावरण संरक्षणको क्षेत्रमा योगदान दिएको भन्दै भेडीचोक सामुदायिक वनलाई नगद ५० हजार रुपियाँसहित सम्मान गरिएको छ । पाँच वटै वडाका उत्कृष्ट उपभोत्ता समिति र चापगैरी विखे भञ्ज्याङ सडक निर्माण गर्ने सुसन निर्माण सेवालाई सम्मानपत्रसहित सम्मान गरिएको छ ।

त्यसैगरी, सन्दकपुर गाउँपालिकाले वृत्तचित्र निर्माण गरी प्रचारप्रसारमा योगदान दिएको भन्दै इलामका सक्रिय युवा पत्रकार सुजन तिम्सिनालाई सम्मान गरेको हो । तिम्सिनालाई नीति कार्यक्रम तथा बजेट सार्वजनिक समारोहमा नगद १० हजारसहित सम्मान गरिएको छ ।  गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष उदयबहादुर राईले थोरै बजेटमा पनि विकास निर्माणका काममा कुनै कमी हुन नदिने बताउनुभयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले सन्दकपुर गाउँपालिकाको विकासको गतिलाई हेरेर अन्य पालिकाले सिक्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३२ करोड ६८ लाख ५७ हजार ३९० रुपियाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले चालु आर्थिक वर्षको बजेट स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित रहेको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?