logo
२०८० चैत्र १५ बिहीवार



बाँकेको खजुरामा ५८ करोडको खेलकुद ग्राम निर्माण शुरु

खेलकुद |


बाँकेको खजुरामा ५८ करोडको खेलकुद ग्राम निर्माण शुरु


सिराज खान
नेपालगञ्ज, जेठ २० गते । सरकारको 'एक गाउँपालिका, एक खेलकुद ग्राम' निर्माण गर्ने नीति तथा कार्यक्रम अनुसार बाँकेको खजुरा गाउँपालिकामा ५८ करोडको लागतमा खेलकुद ग्राम निर्माण कार्य शुरु गरिएको छ ।

खजुरा गाउँपालिकाको वडा–२ सीतापुर शुक्र भलिबल स्टेडियममा खेलकुद ग्राम निर्माणको काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिनुभयो ।
उहाँले खेलकुद ग्राम निर्माणको लागि ५७ करोड ८७ लाखको डीपीआर अनुसारको रकम खर्च गरिने जनाउँदै निर्माण कार्य शुरु गरिसकिएको बताउनुभयो । 

आयोजनाअन्तर्गत सीतापुरमा राष्ट्रिय मापदण्डका फुटबल मैदान, पौडी पोखरी, बहुउदेश्यीय कर्वडल, जिमहल, पार्किङ, आवासीय भवन बन्ने उहाँले जनाउनुभयो । ग्राम निर्माणका लागि लाग्ने रकममध्ये सरकारले चालू आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरेको र सोही रकमबाट काम शुरु गरिएको अध्यक्ष कक्षपतिले बताउनुभयो ।
आठौँ राष्ट्रिय खेलकुद २०७५/०७६ मा खजुरामा भलिaल, फुटबल, महिला हक्की र बक्सिङ स्थानीय रुपमा सफल आयोजना भएको थियो ।

वि. सं. २०६८ सालबाटै खजुरामा खेलकुद ग्रामको लागि पहल थालिएको जनाउँदै अहिले आएर खेलकुद ग्रामको योजना कार्यान्वयनमा आएकोमा खुशी लागेको खेलकुद विकास समिति प्रदेश नम्बर ५ का निवर्तमान अध्यक्ष भीम ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खेलकुदबाट खजुरालाई चिनाउने गरी तयार भएको ड्रिम प्रोजेक्ट कार्यान्वयनको चरणमा पुग्दा निकै खुसी लागेको छ ।’ गाउँपालिकाका अध्यक्ष कक्षपति खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिइएको बताउँनुहुन्छ । स्थानीय वडा र क्लबहरूले पनि खेलकुद गतिविधिलाई बढावा दिएका छन् ।
खजुरामै केही दिनपहिले मात्रै ब्याडमिन्टनको कभर्डहलको निर्माण पनि शुरु गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?