logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तान नजानेमा निर्णयमा दृढ छु – मुश्फीक्र रहिम

खेलकुद |


पाकिस्तान नजानेमा निर्णयमा दृढ छु – मुश्फीक्र रहिम


एजेन्सी
काठमाडौं, फागुन १६ गते । उत्कृष्ट लयमा रहनुभएका बङ्गलादेशका ब्याट्सम्यान मुश्फीक्र रहिमले पाकिस्तान भ्रमण नगर्ने आफ्नो सोचमा कुनै परिवर्तन नआएको प्रष्ट्याउनुभएको छ । उहाँले आफूले पाकिस्तान भ्रमण नगर्ने गरेको प्रस्तावमा क्रिकेट बोर्डले पनि सहमति जनाएको दाबी गर्नुभएको छ ।
बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हस्सनले भने अनुबन्धित भएपछि बोर्डले भनेको स्थानमा खेल्नबाट खेलाडी पछाडि हटन नहुने बताउनुभएको छ । मुश्फीक्रले पाकिस्तान जाने खेलाडीप्रति आफ्नो शुभेच्छा रहेको जनाउनुहुँदै आफू भ्रमणमा नजानेमा दृढ रहेको उल्लेख गर्नुभयो ।
बङ्गलादेशले गत् जनवरीमा पाकिस्तानसँग तीन म्याचको टी ट्वान्टी श्रृखंला र एक टेष्ट म्याच खेलेर फर्किएको थियो । भ्रमणको क्रममा दुई टेष्ट, तीन टी ट्वान्टी र एक अन्तर्राष्ट्रिय एकदिवसीय खेल्नुपर्ने भएपछि छोट्याएर बङ्गलादेशको क्रिकेट टोली घरेलु श्रृखंला खेल्न फर्किएको थियो ।
पाकिस्तान भ्रमणमा नजाने निर्णयबारे प्रष्ट्याउँदै मुश्फीक्रले एक टी भी अन्र्तवार्तामा भन्नुभयो, “मेरो सुरक्षालाई लिएर परिवारमा चिन्ता छ, पाकिस्तान नजानेमा म दृढ छु ।” बङ्गलादेशले कराँचीमा अप्रिल तीनमा एकमात्र अन्तर्राष्ट्रिय एकदिवसीय खेल्दै अप्रिल पाँचदेखि दोस्रो टेष्ट खेल्ने भ्रमण तालिका छ ।
भ्रमण सुनिश्चित हुनुअघि प्रत्येक खेलाडीलाई खेल्न जाने नजाने निर्णय गर्न स्वतन्त्रता रहेको बताउनुभएका बोर्डका अध्यक्ष हस्सनले तालिका सार्वजनिक भएपछि भन्नुभयो, “मुश्फीक्र जाने अपेक्षा गरेका छौं, ऊ मात्रै होइन, टोलीका प्रत्येक सदस्य जानुपर्छ, खेलाडीले ब्यक्तिगत् भन्दा देश हितमा सोच्नुपर्छ ।”
पाकिस्तान भ्रमण नगर्ने मनशाय बनाउनुभएका मुश्फीक्र एकल खेलाडी हुनुहुन्छ । उत्कृष्ट लयमा रहनुभएका मुश्फीक्रले जिम्बाबवे विरुद्धको घरेलु श्रृखंलामा टेष्ट क्रिकेटमा तेस्रो दोहोरा शतक लगाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?