logo
२०८१ बैशाख ८ शनिवार



जुमानुको हयाट्रिकमा पुलिसको जित, ब्रिगेडसँग एपीएफले अङ्क बाँड्यो

खेलकुद |


जुमानुको हयाट्रिकमा पुलिसको जित, ब्रिगेडसँग एपीएफले अङ्क बाँड्यो


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १ गते । सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ । जारी लिगमा यो उसको छैठौं जित हो । जितसँगै ऊ २० अङ्कसहित तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपाल पुलिसले फ्रेन्ड्समाथि ३–० को एकतर्फी तथा सहज जित हात पार्यो । पुलिसको जितमा जुमानु राईले हयाट्रिक गोल गर्नुभयो । राई जारी लिगमा हयाट्रिक गोल गर्नुहुने दोस्रो खेलाडी बन्नुभयो । यसअघि थ्री स्टारका संजोग राइले जारी संस्करणको पहिलो हयाट्रिक गोल गर्नुभएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि पुलिसमाथि दबाब बढेको थियो । तर दोस्रो हाफमा पुलिसले पुनरागमन गर्दै तीन गोल थप्यो । जुमानुले खेलको ४९ औं मिनेटमा पहिलो गोल गरेर पुलिसलाई १–० को अग्रता दिलाउनुभयो । दोस्रो गोल ५६ औं मिनेटमा गर्नुभएको जुमानुले हयाट्रिक पुरा गर्न तीस मिनेट धैर्य राख्नुपर्यो । ८६ औं मिनेटमा तेस्रो गोल गर्दै जुमानुले हयाट्रिक पुरा गरेसँगै पुलिसले ३–० को सहज जित सुनिश्चित गर्यो ।
बुधबार नै सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरी बल एपीएफ क्लब ब्रिगेड ब्वाइजसँग १–१ को बराबरीमा रोकियो । ४४ औं मिनेटमा आशिष लामाको पासमा आशिषले हेडमार्फत् गोल गर्नुहुँदै एपीएफलाई १–० को अग्रता दिलाउनुभयो ।
दोस्रो हाफ गोलरहित बराबरीमा सकिएपछि इन्ज्युरी समयमा ब्रिगेड ब्वाइजका लागि कप्तान अनिल गुरुङ्ले गोल गर्नुहुँदै खेल बराबरीमा ल्याएर एपीएफलाई अङ्क बाँड्न बाध्य पार्नुभयो ।
बराबरीसँगै ब्रिगेड ब्वाइज १३ खेलमा नौ अङ्कसहित १२ औं स्थानमा उक्लेको छ । एपीएफ भने सामान नौ अङ्क ल्याएर १३ औं स्थानमा पुगेको छ । प्रतियोगिताको १२ खेलबाट २९ अङ्क बटुलेर त्रिभुवन आर्मी शिर्ष स्थानमा पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?