logo
२०८० चैत्र १६ शुक्रवार



जावलाखेललाई हराउँदा आर्मी शिर्ष स्थानमा उक्लियो

खेलकुद |


जावलाखेललाई हराउँदा आर्मी शिर्ष स्थानमा उक्लियो


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब पुनः शिर्ष स्थानमा उक्लेको छ । मच्छिन्द्रले सोमबार एपीएफलाई जितेर शिर्ष स्थानमा पुगेको थियो । मङ्गलबार त्रिभुवन आर्मीले जावलाखेलमाथि जित हात पार्दै पुनः शिर्ष स्थानमा उक्लिन सफल भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलबार सम्पन्न दोस्रो खेलमा आर्मीले जावलाखेलमाथि १–० को चुनौतीपूर्ण जित निकाल्यो । आर्मीका लागि भरत खवासले गर्नुभएको गोल नै अन्तिम तथा निर्णायक रहन गयो । खेलको सुरुवातदेखि नै आर्मीले जावलाखेलमाथि दबाब बनाउन सफल भयो । यद्दपी पहिलो हाफ सकिदासम्म दुबै टोलीबाट गोल हुन सकेनन । ११ औं मिनेटमा नवयुग श्रेष्ठको प्रहार बाहिरिन पुग्दा लगत्तै १९ औं मिनेटमा टङ्क बस्नेतको प्रहार जावलाखेलका गोलरक्षक अरुण ब्लोनले बचाउनुभयो ।
सुरुदेखि दबाब बनाएपनि गोल गर्न नसकेको आर्मीले ७४ मिनेट कुर्नुपर्यो । सन्तोष तामाङले मैदानको बीचबाट दिनुभएको पासलाई खवासले गोलपोष्टको दिशा दिदै आर्मीलाई १–० को महत्वपूर्ण बढ्त दिलाउनुभयो । जुन गोल आर्मीलाई तालिकाको शिर्ष स्थानमा पुर्याउन यथेष्ट हुन गयो ।
जितसँगै आर्मीले नौ खेलबाट २० अङ्क बटुलेको छ । सामान खेलबाट १९ अङ्क बटुलेको मच्छिन्द्र तालिकाको दोस्रो स्थानमा धकेलिएको छ । जावलाखेल भने नौ खेलमा १२ अङ्क बटुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?