logo
२०८० चैत्र १६ शुक्रवार



एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

पर्यटन |


एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा


बलेवा, माघ ९ गते । बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम शुरु भएको छ ।    
    
पुललाई आवश्यक २४ वटा लठ्ठा तानिसकेपछि त्यसमाथि स्टिलको फ्ल्याक बिछ्याउन थालेको निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखर कन्स्ट्रक्शनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो ।    
    
करिब ६५ मिटर लठ्ठामा फ्याल जडानको काम सकिएको छ । “फागुनभित्र फिटिङको काम सकिन्छ”, उहाँले भन्नुभयो । कालीगण्डकी नदीमाथि बन्दै गरेको १३० मिटर अग्लो पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि नेपालमै पहिलोपटक नमूना परियोजनाको रुपमा लामो पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । अहिले २१ कामदारले नियमित काम गरी रहेका छन् ।    
    
पहिलो चरणमा २४ लठ्ठा तानिएको छ । बाँकी चार वटा साइड लठ्ठापछि थप गरिनेछ । पुलमा कूल ९४५ स्टिलका फ्ल्याक बिछ्याउनु पर्छ । दैनिक ४०–५० फ्ल्याक बिछ्याउन सकिन्छ ।    
    
पुलको प्रतिवर्ग फिटमा चार जना अट्ने र पुल भरिभराउ हुँदा थेग्न सक्ने क्षमताको हुनेछ । पुल लामो भएकाले मोटरसाइकल सञ्चालनमा रोक लगाइने छ । आयु ५० वर्ष हुने पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासीलगायतलाई सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडकखण्डको ठीकमाथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने छ ।    
    
‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुल्ला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी पाएको कम्पनीले रु छ करोड ९१ लाखमा ठेक्का सम्झौता गरेको हो । यो पुल एशियाकै लामो भएको निर्माण कम्पनीको दाबी छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिए पनि यहाँको खुल्ला प्रकृतिको पहिलो हो ।    
    
चाँदनी–दोधारा पुलमा १४÷१५ वटा टावर राखेर बनाइएको छ । बागलुङमा बन्ने पुल खुला आकाशमा बन्ने भएकाले यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाइ थियो । निर्धारित समयभन्दा छ महिना पहिलै पुल निर्माण सक्ने निर्माण कम्पनीको लक्ष्य छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?