logo
२०८१ बैशाख १३ बिहीवार



भारत्तोलनमा सञ्जु र उसुमा जुनीलाई स्वर्ण, नेपालको स्वर्ण ३६ पुग्यो

खेलकुद |


भारत्तोलनमा सञ्जु र उसुमा जुनीलाई स्वर्ण, नेपालको स्वर्ण ३६ पुग्यो
तस्विरःसागर बस्नेत


इश्ववरचन्द्र झा
काठमाडौं, मङ्सिर १९ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) मा ३६ स्वर्ण जितेको छ । सागको पाँचौं दिन नेपालले आठ स्वर्ण जितेपनि पदक तालिकामा दोस्रो स्थानमा यथावत् रहयो ।
चौथो दिन १५ स्वर्ण जितेर पदक तालिकाको शिर्ष स्थानमा उक्लेको भारतीय खेलाडीले पाँचौं दिन पनि उक्त लयलाई निरन्तरता दिदा सबैभन्दा बढी १५ स्वर्ण जितेर शिर्ष स्थानमा आफ्नो वर्चश्वलाई यथावत राखेको छ । पदक तालिकामा भारत ५७ स्वर्णसहित शिर्ष स्थानमा छन् । नेपालले भने पाँचौं दिन नै आफ्नो बिगत्को कीर्तिमानलाई भङ्ग गर्दै अहिलेसम्मकै सबैभन्दा बढी स्वर्ण जित्न सफल भयो ।

पदक तालिकामा को–कहाँ
३२४ स्वर्णका लागि हुने स्पर्धामध्ये हालसम्म १३५ स्वर्णको नतिजा आइसकेको छ। भारत पदक तालिकामा ६२ स्वर्ण, ४१ रजत र २१ कास्य गरी कुल १२४ पदकसहित शिर्ष स्थानमा छ । नेपालले ३६ स्वर्ण, २७ रजत र ३८ कास्य गरी कुल पदक संख्या १०१ पुर्याएको छ । तेस्रो स्थानमा उक्लेको श्रीलङ्काको कुल पदक संख्या नेपालभन्दा बढी रहेपनि स्वर्ण १७ वटा मात्र जित्न सकेको छ । ऊ तेस्रो स्थानमा छ । पाकिस्तान भने १५ स्वर्ण, २३ रजत र २४ कास्यसहित ६२ पदकसहित चौथो स्थानमा छन् ।
बङ्गलादेशले चार स्वर्ण, ११ रजत र ४५ कास्यसहित ६० पदकसहित पाँचौं स्थानमा छन् । एक मात्र स्वर्ण जितेको माल्दिभ्सले दुई कास्यसहित तीन पदक लिएर छैठौं तथा छ कास्य जितेको भुटान पुछारमा छन् ।

भारत्तोलनमा नेपाली महिलाको पहिलो स्वर्ण
दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला खेलाडीले भारत्तोलनमा पहिलो पटक स्वर्ण पदक जितेको छ । नेपाललाई उक्त अवसर सञ्जु चौधरीले जुराउनुभयो । उहाँले पोखरामा सम्पन्न महिला ५९ किलो तौल समूहमा स्वर्ण जित्नुभएको हो । क्लिन एण्ड जर्कमा ५९ किलो र स्न्याचमा ७४ गरी कुल १७१ किलो तौल उचाल्नुभयो ।
गौरिकालाई स्वर्ण
गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक जित्नुभएको छ । उहाँले २०० मिटरको फ्रि स्टाइल स्पर्धामा भारतकी शिवांगी शर्मालाई हराउँदै स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।
सातदोबाटोस्थित कम्प्लेक्समा सम्पन्न पौडीको स्पर्धामा उहाँले निर्धा्रित दूरी दुई मिनेट पाँच दशमलब शुन्य छ सेकेण्डमा पुरा गर्नुभयो । भारतकी शिवांगीले उक्त दूरी पार गर्न दुई मिनेट सात दशमलब १९ सेकेण्ड लाग्यो। दक्षिण एसियाली खेलकुदको पछिल्लो संस्करणमा उहाँले एक रजतसँगै तीन कास्य पदक जित्नुभएको थियो ।
ब्राजिलको रियो दे जेनारियोमा सम्पन्न २०१६ को ग्रीष्मकालीन ओलम्पिकमा विश्वकै सबैभन्दा कान्छो ओलम्पियानको रुपमा सहभागी हुनुभएको थियो । पौडीको महिला १०० मिटर विधामा सहभागी हुँदा उहाँको उमेर मात्र १४ वर्ष थियो । गौरिकाले तेह्रौं संस्करणको विभिन्न ९ विधामा सहभागी हुने तय गरिएको छ । गौरिका हाल २०२० को टोक्यो ओलम्पिकका लागि छात्रवृत्ति पाएर बेलायतको लण्डनमा प्रशिक्षणरत रहँदै तेह्रौं सागमा सहभागी हुनुभएको छ । गौरिकाको स्वर्णसँगै नेपालले ३३ औं स्वर्ण पदक जितेको छ ।
साइक्लिङ्गमा चार स्वर्ण
यसअघि बुद्धिबहादुर तामाङले नेपालको लागि ऐतिहासिक ३२ औं स्वर्ण पदक दिलाउनुभयो । उहाँले साइक्लिङ्गको क्रस कन्ट्री पुरुष विधातर्फ स्वर्ण हात पार्नुभयो । त्यसैगरी, लक्ष्मी मगरले साइक्लिङ्गको क्रस कन्ट्री विधामा स्वर्ण पदक जित्नुभयो । उक्त स्पर्धामै उषा खनालले रजत पदक प्राप्त गर्नुभयो ।
गोकर्णमा साइक्लिङ्ग क्रस कन्ट्री विधामा चार किलोमिटर दूरी लक्ष्मीले १ मिनेट २०.२० सेकेण्डमा पुरा गर्नुभयो । उषाले उक्त दूरी १ मिनेट ३५.५२ सेकेण्डमा पुरा गर्नुभयो । सोही स्पर्धामा भारतकी प्रनिता प्रफुल सोमनले दूरी पार गर्न एक मिनेट ३६.२९ सेकेण्ड लगाएर कास्य पदक प्राप्त गर्नुभयो ।
साइक्लिङ्गमै नेपालले बुधबार दुई स्वर्ण जितेको थियो । बुधबार साइक्लिङ्गको डाउनहिल स्पर्धामा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण पदक दिलाउनुभएको थियो । बुद्धिबहादुर र लक्ष्मीको स्वर्णसँगै नेपालले साइक्लिङ्गमा चार स्वर्ण जोडेको छ ।
उसुमा पाँचौं स्वर्ण
तेह्रौं दक्षिण एसियाली खेलकुद सागको उसु विधामा जुनी राईले स्वर्ण पदक जित्नुभएको छ।उहाँले सान्सो ५६ किलो तौल समूहमा श्रीलङ्काकी मदुमालीलाई २–० ले हराउनुभयो । जुनीले दिलाउनुभएको स्वर्ण उसु विधामा नेपालको पाँचौं स्वर्ण हो ।
त्यसअघि, निमा घर्तीमगरले ऊसु विधा अन्तगर्तको थाउलो नान्दौमा स्वर्ण पदक जित्नुभएको छ । उहाँले बङ्गलादेशकी मोर्जिना अख्तरलाई पराजित गर्नुभयो ।
लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा निमाले १८.१९ स्कोर ल्याउन स्वर्ण पदक जित्नुभयो । बङ्गलादेशकी अख्तरले १६.३ अङ्क ल्याउनुभयो । श्रीलङ्काकी सञ्जु कुमारीले १४.७९ अङ्क जोडेर उक्त विधामा कास्य पदक जित्नुभयो ।
निमाले यसअघि १२ औं दक्षिण एसियाली खेलकुदमा समेत स्वर्ण पदक जित्नुभएको थियो । उहाँले उसुमा लगातार दुईपटक स्वर्ण पदक जित्ने कीर्तिमान समेत बनाउनुभयो ।
नेपालले साग उद्घाटनको दोस्रो दिन सबैभन्दा बढी १५ स्वर्ण जितेको थियो । मङ्गलबार ८ स्वर्ण जितेको नेपालले बुधबार ऊसु, कराँते र डुवायथोलन तथा तेक्वान्दोमा एक एक र साइक्लिङ्गमा दुई स्वर्ण थप्दै २९ स्वर्ण पुर्याएको थियो ।
पदक तालिकामा नेपाल दोस्रो स्थानमा यथावत छ । भारतले ६२ स्वर्णसहित पदक तालिकामा शिर्ष स्थानमा छ ।

आठौं सागको कीर्तिमान भंग

१९९९ मा सम्पन्न आठौं सागमा नेपालले कुल ३१ स्वर्ण जितेकोमा सबैभन्दा बढी कराँते र तेक्वान्दोमा १४/१४ स्वर्ण पदक प्राप्त गरेको थियो । जारी सागमा पनि नेपालले तेक्वान्दो र कराँते विधाबाट नै सर्वाधिक स्वर्ण हात पारेको हो । यद्दपी तेह्रौं सागमा तेक्वान्दो र कराँते विधामा स्वर्णको संख्या घटेको छ । तेक्वान्दोमा हालसम्म १२ स्वर्ण जितेको नेपालले कराँतेतर्फ १० स्वर्ण जितेको छ । तेक्वान्दोमा भुपेन श्रेष्ठले १२ औं स्वर्ण दिलाउनुभयो । उहाँले भारतको अक्ष हुँडालाई २९ २७ ले हराउनुभयो।

त्यसैगरी, उसु र साइक्लिङ्गमा चार चार, ट्रायथलन र डुवाथोलन र एथलेटिक्समा एक एक गरी ३२ स्वर्ण जितेको छ ।आठौं सागमा नेपालले कराँते र तेक्वान्दो अतिरिक्त पौडी र बक्सिङ्गमा थप स्वर्ण जितेको थियो । पौडीमा एक र बक्सिङ्गमा दुई स्वर्ण जितेर कुल स्वर्ण पदकको संख्या ३१ पुर्याएको नेपालले जारी सागको साइक्लिङ्ग, उसु, भारत्तोलन, एथलेटिक्स विधाको खेलमा समेत स्वर्ण प्राप्त गर्न सफल भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?