logo
२०८० चैत्र १६ शुक्रवार



कप्तान मल्लको शतकमा भुटानमाथि नेपालको विशाल अन्तरको जित

खेलकुद |


कप्तान मल्लको शतकमा भुटानमाथि नेपालको विशाल अन्तरको जित


इश्वरचन्द्र झा

काठमाडौं, मङ्सिर १९ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष क्रिकेट विधामा भुटानमाथि १४१ रनको विशाल अन्तरले जित हात पारेको छ । श्रीलङ्का विरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा जित हात पार्दै प्रतियोगितामा वापसी गरेको छ ।
त्रिविस्थित कीर्तिपुर क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको २ सय ३७ रनको विशाल लक्ष्य पछ्याउँदै भुटान पुरै २० ओभर खेलेपनि ६ विकेटको क्षतिमा ९५ रन मात्रै जोडन सक्यो । भुटानका लागि रञ्जुङ्ग मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाउनुभयो । सोनम टोब्गेले १५ तथा टोब्देन सिंग्येले ११ रनको योगदान दिनुभयो । अपेक्षाकृत कमजोर स्पर्धि भुटानले नेपाली बलिङ्ग आक्रमण समक्ष सम्हालिएको प्रदर्शन गर्दै पुरा २० ओभर खेल्न भने सफल भयो ।
नेपालका लागि पारस खडकाले सर्वाधिक दुई विकेट लिनुभयो । पवन सर्राफ, करण केसी, ललितनारायण राजवंशीले सामान एक एक विकेट लिनुभयो । राशिद खान र सुशन भारी भने विकेट हात पार्न सक्नुभएन ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक शतकीय पारीमा मात्र तीन विकेटको क्षतिमा २३६ रनको विशाल योगफल तयार गर्न सफल भयो । टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको अहिलेसम्मकै उच्च योगफल हो । भुटान विरुद्धको खेलमा नेपालले तयार गरेको योगफलले नेपालको ब्याटिङ्ग ‘स्ट्रेन्थ’ पनि देखियो ।
मल्लले मात्र ५५ बलको सामना गर्दै पाँच चौका र ९ छक्काको सहयोगमा १०७ रन बनाउनुभयो । मल्लको यो पहिलो टी ट्वान्टी शतक हो । यसअघि २१ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएका मल्लको सर्वाधिक ब्यक्तिगत् योगफल ५१ रन रहेको थियो ।
पछिल्लो खेलहरुमा नेपालको कमजोरी बन्दै आएको ओपनिङ्ग साझेदारीमा पनि भुटान विरुद्धको खेलमा उत्कृष्ट देखियो । खडकाले कप्तान मल्लसँग पहिलो विकेटको लागि १०८ रनको उत्कृष्ट साझेदारी गर्नुभयो । टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको पहिलो विकेटको लागि यो सबैभन्दा ठूलो साझेदारी हो । खडकाले २८ बलमा ९ चौका र एक छक्काको सहयोगले ५७ रन बनाएर पेभेलियन फर्किनुअघि नेपालले ९ औं ओभरमा १०८ रनको योगफल जोडिसकेको थियो । खडकाको यो चौथो टी ट्वान्टी अद्र्धशतक हो । उहाँको ब्यक्तिगत् उच्च योगफल १०६ रन रहेको छ ।
रोहित पौडेल मात्र ६ रनको योगफलमा पेभेलियन फर्किएपनि कप्तान मल्ललाई दिपेन्द्र सिंह ऐरीले सघाउँदै तेस्रो विकेटका लागि ८० रनको साझेदारी गर्नुभयो । ऐरीले २७ बलमा चार चौका र २ छक्काको सहयोगमा अविजित रहँदै ४५ रन बनाउनुभयो । आरिफ शेष चार रनमा अविजित रहनुभयो ।
भुटानका लागि तोब्देन सिङ्गेले सर्वाधिक एक विकेट लिनुभयो । यद्दपी उहाँ महँगो साबित हुनुभयो । चार ओभरमा उहाँले ५३ रन खर्चिनुभयो । कर्मा दोर्जीले चार ओभरमा ४५ रन खर्चेर सर्वाधिक दुई विकेट लिनुभयो ।
जितसँगै नेपालले अङ्क तालिकामा दुई अङ्क जोडेको छ । नेपाल अङ्कतालिकाको शिर्ष स्थानमा रहेको छ । पहिलो खेलमा श्रीलङ्काबाट हार बेहोरेको नेपालले अब माल्दिभ्ससँगै बङ्गलादेशलाई जिते सहजरुपमा फाइनलमा प्रवेश पाउनेछ । श्रीलङ्काले भने दुई खेलमध्ये दुबैमा जित हात पारेर चार अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । बङ्गलादेशले एक खेल खेलेकोमा जित हात पार्दै दुई अङ्कसहित दोस्रो स्थानमा छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?