logo
२०८१ बैशाख ८ शनिवार



इन्ज्युरी समयको गोलमा नेपाल श्रीलङ्का विरुद्ध बराबरीमा रोकियो

खेलकुद |


इन्ज्युरी समयको गोलमा नेपाल श्रीलङ्का विरुद्ध बराबरीमा रोकियो
तस्विरःसागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १८ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष फुटबल स्पर्धामा श्रीलङ्का विरुद्ध नेपाल बराबरीमा रोकिएको छ । खेलको अन्तिम समयसम्म अग्रता बनाएको नेपालले अतिरिक्त समयमा चुक्दा श्रीलङ्का खेल बराबरीमा ल्याउन सफल भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरस्थित दशरथ रङ्गशालामा नेपाल र श्रीलङ्काबीचको खेल १–१ को बराबरीमा सम्पन्न भएको छ । नेपालले खेलको पहिलो हाफमा कप्तान सुजल श्रेष्ठको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमै श्रीलङ्काले वापसी गर्दै गोल फर्काएको थियो । श्रीलङ्काका लागि कप्तान मोहम्मद फैजलको फ्रिकिक पासमा जुड सुपानको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि खेल १–१ को बराबरीमा ल्याउनुभयो ।
घरेलु समर्थकले खचाखच भरिएको रङ्गशालामा नेपालले पटक पटक गोलको अवसर पाएपनि गोलको प्रयासहरु विफल भएको थियो । अनन्त तामाङलाई श्रीलङ्काली खेलाडीले फल गरेपछि नेपालले ३३ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । कप्तान सुजल श्रेष्ठले उक्त अवसरलाई सदुपयोग गर्नुहुँदै श्रीलङ्काली पोष्ट चुमाउँदै नेपाललाई खेलमा १–० को अग्रता दिलाउनुभयो । प्रतियोगितामा सुजलको यो तेस्रो गोल हो । यसअघि उहाँले भुटान विरुद्धको खेलमा दुई गोल गर्नुभएको थियो ।
४२ औं मिनेटमा मिक्चेन तामाङको उत्कृष्ट प्रहार श्रीलङ्काली किपरले बिट गरेपनि खेलाडीले बचाए । लगत्तै ४३ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले अर्को अवसर पाउनुभयो । तर उहाँको हेडको प्रयास असफल भयो । श्रीलङ्काको पोष्ट नजिकैबाट उहाँको प्रहार बाहिरिएपछि नेपालले अर्को अवसर गुमायो । र पहिलो हाफसम्म खेलमा नेपालले १–० को अग्रतामा चित्त बुझाउनुपर्यो ।
दोस्रो हाफको सुरुवातमै नेपालका लागि अभिषेक रिजालको कर्नरमा विक्रम लामाले गर्नुभएको प्रहार गोलपोष्टमाथि गएपछि उक्त प्रयास पनि असफल भयो । ८३ औं मिनेटमा अनन्त तामाङ डिबक्सभित्र चुक्न पुग्दा नेपालले अग्रता लिने दोस्रो हाफको उक्त प्रयास पनि सफल भएन । र इन्ज्युरी समयको पहिलो मिनेटमै श्रीलङ्काका मोहम्मद अकिबले फ्रिकिको अवसरलाई गोलमा परिणत गर्नुभयो । र अग्रता कायम राख्न चुक्दै नेपाल १–१ को बराबरीमा रोकियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?