logo
२०८० चैत्र १६ शुक्रवार



साग साइक्लिङ्गमा दुई स्वर्ण, स्वर्ण संख्या २८ पुग्यो

खेलकुद |


साग साइक्लिङ्गमा दुई स्वर्ण, स्वर्ण संख्या २८ पुग्यो


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १८ गते । तेह्रौं दक्षिण एसियाली खेलकुदमा नेपालले २८ स्वर्ण जितेको छ । सागको तेस्रो दिन नेपालले साइक्लिङ्गको डाउनहिलमा दुई स्वर्ण र दुई रजत तथा कराँतेमा एक, तेक्वान्दोमा एक, ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा एक एक गरी पाँच स्वर्ण जितेको छ ।
बुधबार अपरान्ह तेक्वान्दोमा संगिता बस्यालले ६७ किलो मुनिको तौल समुहमा स्वर्ण पदक जित्नुभयो । उहाँले फाइनलमा भारतीय खेलाडी गंगनजोट गिललाई १९–८ ले पराजित गर्नुभयो । गोकर्णमा भएको साइक्लिङ्गको पुरुष विधा तर्फ राजेश मगरले स्वर्ण पदक जित्नुभयो । उहाँले एक मिनेट ४९ दशमलव ३३ सेकेण्डमा एक किलोमिटर दुरी पार गर्दै स्वर्ण पदक हात पार्नुभयो । दोस्रो स्थानमा रहनुभएका निरभ श्रेष्ठले एक मिनेट ५० दशमलव ०८ सेकेण्डमा उक्त दुरी पार गर्दै रजत जित्नुभयो । तेस्रो स्थानमा रहेर कास्य जित्नुभएका प्रचित थापामगरले उक्त दूरी एक मिनेट ५१ दशमलव ६६ सेकेण्डमा पार गर्नुभयो ।
त्यसैगरी, साइक्लिङ्ग महिला विधा तर्फ निश्मा श्रेष्ठले स्वर्ण जित्नुभयो । उहाँले एक किलोमिटरको दुरी दुई मिनेट २२ दशमलव ४५ सेकेण्डमा तय गर्नुभयो । दोस्रो स्थान प्राप्त गर्नुभएकका जमुना थापाले उक्त दुरी २ मिनेट ४१ दशमलव ४५ सेकेण्डमा पार गरी रजत जित्नुभयो । महिला साइक्लिङ्ग डाउनहिलको तेस्रो स्थानमा भने भारतीय खेलाडी रहनुभयो ।
कराँते कुमुते खेलमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जित्नुभयो । कराँते विधामा मात्रै नेपालको स्वर्ण पदकको संख्या १० पुगेको छ ।
उहाँले ६८ किलो तौल समूहको फाइनल स्पर्धामा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउनुभयो । नर्गिसले इन्डोनेसियामा गत वर्ष सम्पन्न एसियाली खेलकुद प्रतियोगितमा नेपालकी रिता कार्कीलाई हराएर कास्य पदक जित्नुभएको थियो ।
अनुपमाले श्रीलङ्काकी विजेकुन माथिमोहमदमाथि ७–४ ले जित हात पार्दै स्वर्ण पदकको स्पर्धामा पुग्नुभएको थियो ।
यसअघि बुधबार बिहान ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा दिपक हमालले स्वर्ण पदक दिलाउनुभयो । ऊसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । हमालले भारतका साजन लामालाई १९.१२ को अपेक्षा १९.३२ स्कोर गर्नुभयो । भारतका लामा भने रजत पदक हात पार्नुभयो । बङ्गलादेशका मोहम्मद आमेर हुस्सैनले कास्य पदक जित्नुभयो । आमेरले १७.१८ स्कोर गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?