logo
२०८० चैत्र १५ बिहीवार



साग भलिबलमा श्रीलङ्कालाई कास्य पदक

खेलकुद |


साग भलिबलमा श्रीलङ्कालाई कास्य पदक


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १६ गते । श्रीलङ्काले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तगर्तको पुरुष भलिबल विधामा कास्य पदक जितेको छ । तेस्रो स्थानको लागि भएको खेलमा बङ्गलादेशमाथि ३–१ को जित हात पार्दै उसले कास्य पदक जितेको हो ।
त्रिपुरेश्वरस्थित राखेप परिसरको कभर्ड हलमा तेस्रो स्थानको लागि सम्पन्न खेलमा श्रीलङ्गाले बङ्गलादेशमाथि ३–१ को रोमाञ्चक जित हात पार्यो । पहिलो सेट बङ्गलादेशले २५–२३ ले आफ्नो पक्षमा पार्दै खेलमा १–० को अग्रता लिएको थियो । दबाबमा आएको श्रीलङ्काले बाँकीको तीनै सेट जितेर कास्य पदक जित्न सफल भयो ।
श्रीलङ्काले दोस्रो सेटमा २५–२० अङ्क जोडेर खेल १–१ को बराबरीमा ल्यायो । तेस्रो सेटमा पनि श्रीलङ्काले उक्त लयलाई निरन्तरता दिदै २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल २–१ को अग्रता लियो । चौथो सेटलाई नै निर्णायक बनाउँदै उसले बङ्गलादेशलाई २१ अङ्कमा रोकेर २५ अङ्क ल्याएर कास्य पदक जित्यो ।
सेमीफाइनलमा श्रीलङ्का भारतसँग पराजित भएको थियो भने बङ्गलादेश पाकिस्तानसँग हार बेहोरेर तेस्रो स्थानको लागि हुने स्पर्धामा आफ्नो स्थान सुनिश्चित गरेको थियो । नेपाल भने बङ्गलादेश र भारत दुबै टोलीबाट पराजित भएर प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।
स्वर्ण पदकका लागि मङ्गलबार भारत र पाकिस्तानबीच स्पर्धा हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?