logo
२०८१ बैशाख १२ बुधवार



एसीसी इमर्जिंग कपमा नेपालबाट हङकङ ४० रनले पराजित

खेलकुद |


एसीसी इमर्जिंग कपमा नेपालबाट  हङकङ ४० रनले पराजित


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ३० गते । नेपालले एसीसी इमर्जिङ्ग एसिया कप २०१९ को आफ्नो दोस्रो खेलमा हङकङमाथि ४० रनको जित हात पारेको छ । नेपालले प्रस्तुत गरेको २ सय १८ रनको औसत लक्ष्य पछ्याउँदै हङकङले ४५.५ ओभरमा मात्र १ सय ७७ रनमा समेटिएपछि नेपालले ४० रनले जित हात पारेको हो ।
लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा चार रनमै पहिलो विकेट गुमाएको हङकङले १६ ओभर खेल्दा पाँच विकेट गुमाउन पुगेको थियो । किञ्चित शाहले पेभेलियन फर्किनुअघि हङकङको इनिंग्समा महत्वपूर्ण ५३ रन जोडेपनि उहाँको योगदान जित दिलाउन अपर्याप्त रह्यो । हारुन मोहम्मद अरशदले २६ रन बनाउनुभयो । हङकङका लागि एहसान नवाज अन्तिम आशा बनेर अविजित रहँदै ४४ रनको योगदान दिएपनि दशौं विकेटको रुपमा रौनक कपूर रन आउट भएपछि नेपालले सहज जित हात पार्न सफल भयो । कप्तान मोहम्मद ऐजाज खान डक आउट हुनुभयो ।
नेपाली बलरहरुमा करण केसी र अविनाश बोहराले सामान तीन तीन विकेट लिनुभयो । करण, अविनाशले कसिलो बलिङ गर्नुभयो । पवन सर्राफले कुनै विकेट हात पार्न नसकेपनि चार ओभरमा मात्र ९ रन खर्चेर हङकङका ब्याट्सम्यानलाई खुलेर खेल्न रोक लगाउनुभयो । विनोद भण्डारीले विकेट पछाडि छ जना हङकङका ब्याट्सम्यानको क्याच समात्नुभयो ।
यसअघि शरद् भेषवाकारले ८९ रनको उत्कृष्ट इनिंग्स खेलेपछि नेपालले हङकङ समक्ष ५० ओभरमा १० विकेटको क्षतिमा २ सय १७ रनको योगफल तयार गर्यो । नेपाल इमर्जिङ्ग कपको पहिलो खेलमा भारतबाट सात विकेटले पराजित हुन पुगेको थियो । आफ्नो दोस्रो खेलमा हङकङको सामना गर्दा ओपनर ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल तीन रनमै पेभेलियन फर्केपछि कमजोर सुरुवात गर्न पुगेको थियो ।
ज्ञानेन्द्र मल्ल डक आउट भएर पेभेलियन फर्केपछि ब्याटिङ्ग गर्न आउनुभएका शरद् भेषवाकारले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ८३ रनको महत्वपूर्ण साझेदारी गर्नुभयो । ऐरी ३७ रन बनाएर पेभृेलियन फर्किदा ब्याटिङ्ग गर्न आएका पवन सर्राफ पनि डक आउट हुन पुग्दा नेपाली इनिंग्स दोस्रो पटक दबाबमा आयो ।
ऐरी र सर्राफको विकेट लगालग खसेपछि दबाबमा आएको नेपाललाई भेषवाकारले मोहम्मद आरिफ शेषसँग पाँचौं विकेटका लागि ७४ रनको साझेदारी गर्नुभयो । मोहम्मद आरिफ शेषले नेपाली इनिंग्समा महत्वपूर्ण ४२ रन जोड्नुभयो । भेषवाकारले १ सय ३९ बलको सामना गर्दै ९ चौकाको सहयोगमा ८९ रन बनाएर मोहम्मद ऐजाज खानको बलमा आउट हुन पुग्नुभयो । नेपालले ५० ओभरमा २ सय १७ रनमा अल आउट हुन पुग्यो ।
यसअघि ढाकामा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको नेपालले ओपनरद्वय ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल सस्तोमा गुमाउँदा दबाबमा आएको थियो । मल्ल इनिंग्सको दोस्रो बलमै डक आउट हुन पुग्नुभयो । भुर्तेल भने एक रन जोडदा बोल्ड हुन पुग्नुभयो । दुबैजनालाई हङकङका तिब्र गतिका बलर मोहम्मद ऐजाज खानले पेभेलियन फर्काउनुभयो ।
हङकङका लागि मोहम्मद ऐजाज खानले सर्वा्धिक तीन विकेट लिनुभयो । नसरुल्ला राना र एहसान नवाजले सामान दुई दुई तथा आफताब हुस्सैन र रौनक कपूरले एक एक विकेट बाँड्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?