logo
२०८० चैत्र १६ शुक्रवार



शरद् रआरिफको उत्कृष्ट ब्याटिङ्गमा नेपालद्वारा हङकङ समक्ष २ सय १८ रनको लक्ष्य

खेलकुद |


शरद् रआरिफको उत्कृष्ट ब्याटिङ्गमा नेपालद्वारा हङकङ समक्ष २ सय १८ रनको लक्ष्य


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ३० गते । नेपालले एसीसी इमर्जिङ्ग एसिया कप २०१९ को आफ्नो दोस्रो खेलमा हङकङ समक्ष २ सय १८ रनको औसत लक्ष्य प्रस्तुत गरेको छ । शरद् भेषवाकारले ८९ रनको उत्कृष्ट इनिंग्स खेलेपछि नेपालले औसत लक्ष्य प्रस्तुत गर्न सफल भयो । नेपाल इमर्जिङ्ग कपको पहिलो खेलमा भारतबाट सात विकेटले पराजित हुन पुगेको थियो । आफ्नो दोस्रो खेलमा हङकङको सामना गर्दा ओपनर ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल तीन रनमै पेभेलियन फर्केपछि कमजोर सुरुवात गर्न पुगेको थियो ।
ज्ञानेन्द्र मल्ल डक आउट भएर पेभेलियन फर्केपछि ब्याटिङ्ग गर्न आउनुभएका शरद् भेषवाकारले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ८३ रनको महत्वपूर्ण साझेदारी गर्नुभयो । ऐरी ३७ रन बनाएर पेभृेलियन फर्किदा ब्याटिङ्ग गर्न आएका पवन सर्राफ पनि डक आउट हुन पुग्दा नेपाली इनिंग्स दोस्रो पटक दबाबमा आयो ।
ऐरी र सर्राफको विकेट लगालग खसेपछि दबाबमा आएको नेपाललाई भेषवाकारले मोहम्मद आरिफ शेषसँग पाँचौं विकेटका लागि ७४ रनको साझेदारी गर्नुभयो । मोहम्मद आरिफ शेषले नेपाली इनिंग्समा महत्वपूर्ण ४२ रन जोड्नुभयो । भेषवाकारले १ सय ३९ बलको सामना गर्दै ९ चौकाको सहयोगमा ८९ रन बनाएर मोहम्मद ऐजाज खानको बलमा आउट हुन पुग्नुभयो । नेपालले ५० ओभरमा २ सय १७ रनमा अल आउट हुन पुग्यो ।
यसअघि ढाकामा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको नेपालले ओपनरद्वय ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल सस्तोमा गुमाउँदा दबाबमा आएको थियो । मल्ल इनिंग्सको दोस्रो बलमै डक आउट हुन पुग्नुभयो । भुर्तेल भने एक रन जोडदा बोल्ड हुन पुग्नुभयो । दुबैजनालाई हङकङका तिब्र गतिका बलर मोहम्मद ऐजाज खानले पेभेलियन फर्काउनुभयो ।
हङकङका लागि मोहम्मद ऐजाज खानले सर्वाधिक तीन विकेट लिनुभयो । नसरुल्ला राना र एहसान नवाजले सामान दुई दुई तथा आफताब हुस्सैन र रौनक कपूरले एक एक विकेट बाँड्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?