logo
२०८० चैत्र १५ बिहीवार



नेपाली महिला टोली एसियन सेन्ट्रल जोन भलिबलको च्याम्पियन

खेलकुद |


नेपाली महिला टोली एसियन सेन्ट्रल जोन भलिबलको च्याम्पियन


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २८ गते । बङ्गलादेशमा जारी एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप २०१९ को उपाधि हात पारेको छ । उपाधिको लागि बिहिबार सम्पन्न खेलमा मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले उपाधि हात पारेको हो ।
बङ्गलादेशको ढाकास्थित शाहीद शुरवादी हलमा सम्पन्न खेलमा नेपाली महिला भलिबल टोलीले प्रतियोगिता अवधि भरि आफ्नो अपराजित यात्रालाई जारी राख्दै उपाधि हात पारेको हो ।

पहिलो सेटमा मल्दिभ्सलाई २५–१३ ले हराएको नेपालले बाँकीको दुई सेटमा पनि मल्दिभ्सलाई वापसीको अवसर दिएनन । नेपालले दोस्रो सेट समेत २५–१२ ले जित्यो । पहिलो दुई सेटमा नेपाल समक्ष औसत चुनौती दिएको मल्दिभ्स तेस्रो सेटमा झनै खराब प्रदर्शन गर्यो । तेस्रो सेट नेपालले २५–०८ ले जित हात पार्दै उपाधिमाथि कब्जा गर्न सफल रह्यो ।शुरवादी रंगशालामा खचाखच भरिएको दर्शक माझ नेपालले सशक्त प्रदर्शन गरेको थियो । 


समूहगत् चरणको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई हराएको नेपालले दोस्रो खेलमा किर्गिस्तान र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई पराजित गरेर उपाधिको होडमा स्थान सुनिश्चित गरेको थियो । लिग चरणको अन्तिम खेलमा पनि मल्दिभ्समाथि बुधबार ३–० को जित हात पारेको नेपालले उपाधिको लागि चिर प्रतिद्वन्दी मल्दिभ्सविरुद्ध उच्च मनोबलका साथ उत्रिएको थियो । नेपालले प्रतियोगिताको आफ्नो पाँचवटा खेलको १५ वटै सेटमा जित हात पार्ने एकल टोली समेत बन्न पुग्यो । गत् शनिबार ९ नोभम्बरबाट सुरु भएको प्रतियोगितामा पाँच राष्ट्रले सहभागिता जनाएको थियो । 

भलिबलमा नेपालको यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको थियो । दक्षिण एसियाली खेलकूद प्रतियोगिता(साग)मा भने नेपालले तीन कास्यपदक जितेको छ । पुरुष भलिबल टोलीले यसअघि सेन्ट्रल जोन भलिबलमा तेस्रो स्थान प्राप्त गरी जितेको कास्यपदक नै अहिलेसम्मको ठूलो उपाधि हो । नेपाली महिला टोलीको जितमा प्रशिक्षक जगदीश भट्टको निरन्तरको निर्देशन र प्रशिक्षणलाई समापन समारोहमा प्रशंसा गरिएको थियो । विजेता नेपाली टोलीलाई बङ्गलादेशका कृषि मन्त्री डा. अब्दुल रज्जाकले ट्रफी प्रदान गर्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?