logo
२०८० चैत्र १५ बिहीवार



दोस्रो टेष्ट म्याचमा पनि भारतको भारी अन्तरको जित

खेलकुद |


दोस्रो टेष्ट म्याचमा पनि भारतको भारी अन्तरको जित


एजेन्सी
असोज २६ गते । भारतले दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्ट म्याच एक इनिंग्स र १३७ रनको विशाल अन्तरले जितेको छ । पहिलो इनिंग्समा ३२६ रनले पछाडि परेको दक्षिण अफ्रिका आफ्नो दोस्रो इनिंग्समा मात्र १८९ रनमा समेटिएपछि ऊसले भारी अन्तरको हारको सामना गर्नुपरेको हो ।
चौथो दिनको खेलमा पहिलो इनिंग्समा ३२६ रनले पछाडि परेको दक्षिण अफ्रिकालाई घरेलु टोलीले फ्लो अन दिएको थियो । दिनको खेल सुरु भएसँगै आफ्नो दोस्रो इनिंग्स सुरु गरेको दक्षिण अफ्रिकाले ६७ ओभर दुई बलमा १८९ रनमा समेटिन पुग्यो । अफ्रिकाका लागि डीन एल्गरले सर्वाधिक ४८ तथा तेम्बा बभुमाले ३८, वर्णोन फिलन्दरले ३७ र केशव महाराजले २२ रनको योगदान दिनुभयो । अफ्रिकी इनिंग्सका छ जना ब्याट्सम्यानले दोहोरो योगफल समेत जोडन सक्नुभएन ।
भारतका लागि उमेश यादब र रबिन्दर जडेजाले समान तीन तीन विकेट लिनुभयो । इशान्त शर्मा, मोहम्मद समीले एक एक तथा रबिचन्द्रन अश्विनले दुई विकेट लिनुभयो ।
यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले कप्तान विराट कोहलीको २५४ रनको अविजित योगदानले पहिलो इनिंग्स पाँच विकेटको क्षतिमा ६०१ रनमा घोषणा गरेको थियो । ओपनर मयन्क अग्रवालले १०८ र रबिन्दर जडेजाले ९१ रनको योगदान दिनुभयो । अफ्रिकी बलरहरुमा कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिनुभयो । जवाबमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिंग्समा २७५ रनमा सिमित हुन पुग्यो । फाफ डु प्लेसिसले ६४, केशव महाराजले ७२ र वर्णोन फिलन्दरले ४४ रन बनाउनुभयो । भारतका लागि रबिचन्द्रन अश्विनले चार, उमेश यादबले तीन, मोहम्मद समीले दुई र रबिन्दर जडेजाले एक विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच कोहली घोषित भयो । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो तथा अन्तिम टेष्ट म्याच आगामी शनिबारदेखि राँचीमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?