मैदानबिनाको नेपाली फुटबल

खेलकुद |


2019-10-07-2373


  सोमराज पोखरेल

फुटबल खेल नेपालमा एक शताब्दीअघि नै भित्रिएको पाइन्छ । भारतमा पढ्न जाने थापा तथा नर्सिङ राणाहरूबाट फुटबल भित्रिएको इतिहासले देखाउँछ । एकापसमा प्रतिस्पर्धा गरी हालको जस्तो खेल खेल्ने प्रचलनचाहि ँ भएको थिएन ।
नरशमशेर राणाका अनुसार जावलाखेल दरबारको महावीर टिम, चारबुर्जा दरबारको ठमेल टिम, लाल दरबारको लाहुरे टिम तथा विशालनगर दरबारको वसन्तशमशेर राणाको टिमबीच प्रतिस्पर्धात्मक फुटबल खेल्न थालिएको थियो । त्यस प्रकारको प्रतिस्पर्धात्मक खेल सञ्चालन गर्दा एउटा टिमले अर्को टिमलाई खेलमा भिड्न आमन्त्रण गर्दथ्यो र पराजित टिमले विजयी टिमलाई बाजीमा हारबापतको एउटा जक्खु खसी बुझाउनुपर्दथ्यो ।
यसरी अनौपचारिक रूपले राणाकालमा भित्रिएको फुटबलको विधिवत् सङ्घ स्थापना २००८ सालमा भयो । नेपाल फुटबल सङ्घ हुँदै नाम परिवर्तन भई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) नामकरण भएको भने २०३० सालमा हो ।
त्यतिबेलादेखि अहिलेसम्म फुटबललाई पिरलो मैदानकै छ । पहिले अव्यवस्थित मैदान भए पनि खेल शैली पनि त्यस्तै थियो, अहिले बदलिएको छ । नेपालले विश्वकप छनोटसमेत खेलिरहेको छ तर मैदानको अभावले सधँै पिरोल्ने गरेको छ ।
एकातिर नेपालले विश्वकप छनोट खेलिरहनु र अर्कातिर नेपालको एउटा आफ्नो अन्तर्राष्ट्रियस्तरको
रङ्गशाला नहुनु कम लज्जाको विषय होइन । विवशता या बाध्यता जे भने पनि रङ्गशाला यहाँ छैन ।
राणाहरूले खेलकुदलाई मनोरञ्जनका साधनका रूपमा लिने गर्दथे । जसले गर्दा खेलमा प्रतिस्पर्धा भन्दा मनोरञ्जनात्मक भावना बढी थियो । प्राविधिक ज्ञान कम हुँदा मुढेबलका आधारमा खेलाडीले आफ्नो कौशल देखाउँथे । खेल व्यवस्थापनमा दीर्घकालीन सोचाइको अभावकै कारण अहिलेसम्म मुलु कले एउटा ठूलो र उत्कृष्ट रङ्गशाला पाउन सकेको छैन ।

विदेशतिर घरेलु रङ्गशाला खोजी
नेपालको विडम्बना नै भन्नुपर्छ सर्वाधिक व्यावसायिक नेपाली खेलकुद फुटबल हो तर त्यही फुटबलको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला पाउन कठिन भएको छ । भएको एउटा दशरथ रङ्गशाला थलिएर बसेको धेरै वर्ष भयो ।
नेपालमा अहिले विशेषगरी फुटबलका दुई प्रतियोगिता हुँदैछन् । ती दुवै प्रतियोगिता नेपालका लागि महìवपूर्ण छन् । एउटा हो आगामी मङ्सिरमा हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद । अर्को हो सन् २०२२ को कतार विश्वकपका लागि नेपालको छनोट खेल ।
छनोट खेलहरू घर र घर बाहिर खेल्नुपर्ने गरी दुई संरचनामा हुने गर्छन् । त्यसका लागि नेपाललाई रङ्गशालाको आवश्यकता छ । समयमै मैदान नपाएपछि एन्फाले कुवेतमा रहेको रङ्गशालालाई घरेलु मैदानका रूपमा प्रयोग गर्नका लागि कुवेतसँग स्वीकृति माग्यो र कुवेत यसमा राजी
भएको छ ।
तर यसमा एसियाली फुटबल महासङ्घ (एएफसी) राजी भएन । नेपालले भदौमै दुईवटा खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो तर मैदानको अभावका कारण एएफसीलाई अनुरोध ग¥यो पहिले घर बाहिर खेल खेल्ने । उक्त प्रस्ताव स्वीकृत भएपछि भदौमा नेपालले दुई खेल विपक्षीका मैदानमा खेलेको छ ।
छनोटको समूह बी मा रहेको नेपालले कुवेत, जोर्डन, चाइनिज ताइपेई र एसियाको पावरहाउस भनेर चिनिने अस्ट्रेलियासँग घर बाहिर खेलिरहेको छ । नेपालले त्यसपछि नेपालमै खेल्नुपर्ने हुन्छ ।
बाध्य भएर विदेशी रङ्गशालालाई घरेलु बनाएरै भए पनि छनोट खेल्न तम्सिएको एन्फालाई एएफसीले अङ्कुश लगाएपछि उसले सरकारलाई गुहारेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले कात्तिक मसान्तसम्म दशरथ
रङ्गशाला तयार गर्ने लक्ष्य रहेको बताएका छन् । उनी आफ्नो कार्यकालमा जसरी पनि साग आयोजना सफल भएको हेर्न चाहन्छन् । त्यसका लागि दशरथ रङ्गशाला समयमै बन्नु जरुरी छ । उनले मैदान बनाउने जिम्मा नै एन्फालाई दिएका छन् ।
भदौ १६ गते उनले मैदानको निर्माणको जिम्मा एन्फालाई दिए । मङ्सिर ३ गते नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्नुपर्ने समयसीमा छ ।
राखेपले दशरथ रङ्गशालामा नभए नेपालगञ्ज रङ्गशाला उपलब्ध गराउने योजना बनाएको थियो तर साग लक्षित रङ्गशाला बनाउनुपर्ने भएपछि दशरथ रङ्गशालाको मैदान एन्फालाई नै बनाउने जिम्मा दिँदा सफल भइने आशामा राखेप छ ।
रङ्गशालाको आकार घट्दै गइरहेको छ । पहिले २२ हजार दर्शक अट्ने क्षमता रहेको रङ्गशालामा अहिले मुस्किलले १८ हजार दर्शक अट्छन् । शहरको बीच भागमा रहेको रङ्गशालाका कारण कुनै दुर्घटना हुनासाथ ठूलो धनजनको क्षति हुने निश्चित छ ।
२०४३ सालमा खेल भइरहेका समयमा आँधीबेहरी आउँदा बाहिर निस्कने ढोकाहरू बन्द भएर ७३ जनाको मृत्यु भएको थियो । साँघुरो रङ्गशाला भएका कारणले गर्दा दुर्घटना नदोहोरिएला भन्न सकिन्न ।
२०७२ सालको गोर्खा भूकम्पका कारण जीर्ण बनेको रङ्गशाला चिनियाँ कम्पनीले बनाइरहेको छ । निकै सुस्त गतिमा निर्माण भइरहेकाले पनि यो समयमै सकिनेमा
शङ्का व्यक्त भइरहेको छ तर धेरैजसो काम सकिएकाले अब कात्तिक मसान्तसम्म काम सकिनेमा प्रमुख इन्जिनियर अरुण उपाध्याय आशावादी छन् ।

नेपालमा कहाँ कहाँ उपयुक्त छ खेल्न ?

सरकारले खेलकुदमा यथेष्ट लगानी गर्न र बजेट विनियोजन गर्न नसकेका कारण नै भौतिक पूर्वाधारहरू बन्न सकेनन् । हरेक दुई दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुको कारण हो भौतिक पूर्वाधारका हिसाबले सबै प्रदेश सक्षम होउन् । सोही योजनाअनुसार राष्ट्रिय खेलकुद हुनसकेको छैन ।  २०३८ सालदेखि शुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताले बल्ल आठौँ संस्करण पार गरेको छ । बनाइएका भौतिक पूर्वाधार दिगो किसिमका नभई झारा टार्ने किसिमका भएकाले गर्दा पूर्वाधार निर्माणको लगानी बालुवामा पानी हाले बराबर भएको छ ।
एन्फाका प्राविधिक प्रमुख कृष्ण थापाका अनुसार दशरथ रङ्गशाला मात्र हैन मर्मतसम्भार गर्ने हो भने त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको मैदान राम्रो छ । विराटनगरको मैदान नेपालकै नम्बर एकमा गनिन्छ । विराटनगरको मैदानमा महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता नै आयोजना भइसकेको छ । प्रमुख थापाका अनुसार पोखरा रङ्गशाला पनि खेल्न लायक बन्दैछ तर नेपालगञ्जको रङ्गशाला भने असफल भइसक्यो ।

सरकारको बेवास्ता

सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रङ्गशाला निर्माण गर्ने भनी विगतका नीति तथा कार्यक्रममा सार्वजनिक ग¥यो तर त्यो पालना हुन सकेन । मुलुक सङ्घीयतामा गइसकेपछि खेलकुद विकासका लागि रङ्गशाला महìवपूर्ण हो । यसमा केन्द्र सरकार मात्र होइन प्रदेश सरकार पनि चुकेका छन् । कुनै समय थियो एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले एएफसीको उपाध्यक्षमा निर्वाचित भएपछि नेपालमा एउटा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने अठोट गरेका थिए । उनले पहल पनि गरे तर सरकारले जग्गा नदिएको दुःखेसो उनले पोख्दै आए ।
उनी भन्छन्, “संसारभर रङ्गशाला बनाउने काम सरकारको हो तर हामीले एन्फा कम्प्लेक्स बनायौँ । बुटबल, च्यासल, सातदोबाटो र धरानमा मिनी रङ्गशाला बनायौँ । च्यासलमा १० हजार दर्शक अट्ने क्षमताको प्रशिक्षण केन्द्र बनाउन पहल ग¥यौँ ।”
विश्वस्तरमा नेपाली फुटबललाई लैजानका लागि यथेष्ट मैदान हुनुपर्नेमा दुईमत छैन तर त्यही एउटा भएको दशरथ रङ्गशालाकै भर गरेर अगाडि बढ्नुभन्दा अन्य स्थानमा भएका मिनी रङ्गशालालाई पुनः निर्माण गर्ने हो भने कम्तीमा मैदानको अभावमा विदेशतिर चहार्नुपर्ने अवस्था आउने छैन ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?