logo
२०८० चैत्र १६ शुक्रवार



प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु   

खेलकुद |


प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु   



चितवन, असोज ४ गते । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।    
    
 सो अवसरमा उहाँले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्ने प्रक्रियामा हामी रहेका छौँ । यसले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने छ ।” खेल क्षेत्रको विकासले देशको नाम उच्च राख्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।    
    
 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारी, अखिल नेपाल फुटबल सङ्घ चितवनका अध्यक्ष श्रीकृष्ण कार्की, क्लबका सचिव भरतबहादुर सुवेदीलगायतले बोल्नुभएको थियो ।    
    
 भरतपुरको गेष्टहाउस चौरमा शुरु भएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने टिमलाई कपसहित रु एक लाख एक हजार १११ र दोस्रो हुनेले कपसहित रु ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने छन् ।    
    
 त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र ट्रफी दिइने छ । अन्त्यमा म्यान अफ दी सिरिजलाई रु १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र हाइ स्कोररले जनही रु पाँच÷पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।    
    
 प्रतियोगितामा चितवन रातो र चितवन नीलो गरी जिल्लाका दुई टिम सहभागी भएका छन् । भारतबाट दुईवटा टिमले सहभागिता जनाएका छन् । सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा आठ–आठ टोली रहेका छन् । समूह ‘ए’ मा आयोजक चितवन भेटेरान (नीलो) सहित मकवानपुर भेटेरान हेटौँडा, अभिषेक चर्च नवलपुर, रोयल भेट्रान दार्जिलिङ(भारत), बगर भाइ खलक पोखरा, टी बरगर ललितपुर, नाइट किङ काठमाडौँ र नवलपुर भेट्रान क्लब छन् ।    
    
 यस्तै समूह ‘बी’ मा चितवन भेट्रान (रातो)सहित सानो गौचरन काठमाडौँ, रुपन्देही भेट्रान ११ बुटवल, बीबीसी भेट्रान बनेपा, झापा भेट्रान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफसी भारत र कैलाली भेट्रान रहेको आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    
    
 प्रतियोगिताको पहिलो चरणको खेल दुई दिन हुनेछ । दुवै दिन चार–चार वटा खेल हुने तालिका छ । सहभागी १६ मध्ये आठ टोली क्वाटरफाइनल प्रवेश गर्नेछ । आजको पहिलो खेल चितवन नीलो र मकवानपुर भेट्रान क्लबबीच भइरहेको छ । आज चार खेल हुँदैछ । प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?