logo
२०८१ बैशाख ७ शुक्रवार



अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा   

अन्तर्राष्ट्रिय |


अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा   


     
डेट्रोएट, भदौ ३० गते । अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका हुन् ।    
     
वालस्ट्रिट जर्नलका अनुसार एक दशकमा पहिलो पटक जिएम विरुद्ध देशव्यापी यतिठूलो हडताल भएको हो । जिएमसँग मजदूरहरुको चारवर्षे करार समाप्त भएको, र नयाँ करार गर्न आनाकानी गरेपछि मजदूरहरु आन्दोलित भएका हुन् ।    
    
डिट्रोइटमा आइतबार राति स्थानीय युनियन नेताहरुको बैठकले हडतालमा जानैपर्ने निर्णय गरेको युनाइटेड अटो वर्कर्स युनियनले ट्वीटमार्फत जानकारी दिएको थियो । “यो अन्तिम विकल्प हो,” जिएमसँग युनियनका मुख्य वार्ताकार टेरी डिटेसले बताउनुभयो । “हामी यस मुलुकका श्रमजीवी मजदूरको आधारभूत अधिकारका पक्षमा अडिग छौं ।”    
    
युएडब्लुका अधिकारीहरुले दुबै पक्षबीचको छलफल विनानिष्कर्ष टुङ्गिएको बताएका छन् । दुबै पक्षबीच ज्याला, स्वास्थ्य सेवा, अस्थायी कामदारको स्थिति र रोजगारीको सुरक्षाका विषयमा विमती रहेको थियो ।    
“हाम्रा साथीहरुले कुरा राख्नुभयो, हामीले यस विषयलाई हल्का रुपमा लिने कुरै छैन,” युएडब्लुका राष्ट्रिय मध्यस्थता समितिका अध्यक्ष टेड क्रुमले बताउनुभयो ।    
    
हडताल शुरु केही घण्टाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भन्नुभएको छः “जनरल मोटर्स र युनाइटेड अटो वर्कर्सले मिलेर कुनै सम्झौतामा पुग्नुको विकल्प छैन ।”    
    
वालस्ट्रिट जर्नलका अनुसार जिएममा सन् २००७ मा पछिल्लो पटक हडताल भएको थियो । त्यसबखत देशभर रहेका ८९ भन्दा बढी कारखानाका करिब ७३ हजार मजदूरले दुई दिनसम्म काम बन्द गरेर हडतालमा उत्रिएका थिए ।    
    
जिएमले एक वक्तव्य प्रकाशन गरी युएडब्लुले हडतालमा उत्रिने निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको जनाएको छ । जिएमले मजदूरका लागि निकै आकर्षक प्रस्ताव अघि सारेको स्पष्ट गरेको छ । “हामीले असल मनसायका साथ वार्तामा सहभागी भएका थियौं । हाम्रो एक मात्र लक्ष्य हाम्रा कर्मचारी र हाम्रो व्यवसायको राम्रो भविष्य सुनिश्चित गर्नु हो ।”    
    
फोर्ड र फिएट क्रिस्लरमा कार्यरत मजदूरले भने आफ्नो करार नवीकरण गर्न सहमति जनाइसकेका छन्, तर जिएमको व्यवस्थापनले शनिबार मजदूरको करार नवीकरण तत्काल नगर्ने जनाएको थियो ।    
    
जिएमको बजार तुलनात्मक रुपमा निकै बलियो मानिन्छ । गत वर्ष कम्पनीले करिब ११ अर्ब ८० करोड अमेरिकी डलर सञ्चालन मुनाफा कमाएको थियो । तर अमेरिका र अरु मुलुकबीचको व्यापार तनाबले जिएम पनि मन्दीको शिकार हुने अनुमान गरिएको छ । त्यही जोखिमका कारण कम्पनीले आफ्ना मजदूरको संख्यामा निरन्तर कटौती गरिरहेको छ ।    
    
जिएमले गत नोभेम्बरमा उत्तर अमेरिकाका पाँच वटा कार निर्माण कारखाना बन्द गर्ने घोषणा गरेको थियो जसमा अमेरिकाका मिसिगन र ओहायोका कारखाना पनि समावेश छन् ।    
    
जिएमको व्यवस्थापनले अमेरिकी कार निर्माण कारखानाको स्तरोन्नतिका लागि ७ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यसबाट करिब पाँच हजार ४०० को रोजगारी सुनिश्चित हुनेछ । साथै अमेरिकी प्लान्टबाटै पूर्ण विद्युतीय ट्रक निर्माण गर्ने योजना पनि समावेश गरिएको छ ।   (फाेटाे गुगलबाट) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?