logo
२०८० चैत्र १६ शुक्रवार

  एएफसी एसियन कप २०२३  



नेपालले ताइपेसँगको खेलमा सही बाटो पक्रने आशा

खेलकुद |


नेपालले ताइपेसँगको खेलमा सही बाटो पक्रने आशा


प्रजित शाक्य
काठमाडौँ, भदौ २३ गते । फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणअन्तर्गत नेपालले आप्mनो दोस्रो खेलमा मङगलबार चीनको ताइपेइसँग उसकै घरेलु मैदानमा खेल्दैछ । पहिलो खेलमा कुवेतसँग ७–० ले हारेपछि नेपालको बोहनी खराब भएको थियो । जुन पराजयले नेपाली फुटबल टिमको ठूलो आलोचना पनि भइरहेको छ ।
नेपालले ताइपेईविरुद्धको खेलमा सोही हारलाई बिर्साउने कोसिस गर्नेछ । नेपाली खेलाडीहरुले सोही आलोचनालाई साम्य पारेर घरेलु समर्थकलाई खुशी पार्न जिम्मेवारी बोध गरेर खेल्ने आशा गरिएको छ ।
प्रशिक्षक योहान कालिनले ताईपेईविरुद्ध उत्कृष्ट नतिजा निकालेर नेपाली फुटबल पुनः सही बाटोमा फर्कने बताउनुभएको छ । ‘पछिल्लो खेलमा वेहोरेको हार निकै निराशाजनक थियो । सुरुमै गोल वेहोरेपछि नेपालका डिफेन्डर दबाबमा परे ।
मैले अहिलेसम्म त्यो नतिजालाई विश्वास गर्न सकिरहेको छैन । त्यो अपत्यारिलो नतिजा हो । कुवेतविरुद्ध धेरै गल्ती भयो । अब पुनः सही बाटोमा फर्किनु छ । कुवेतविरुद्धको खेलमा गरेका गल्ती सच्याउनुछ । त्यो नै टिमका लागि सबभन्दा महत्वपूर्ण कुरा हुनेछ’– प्रशिक्षक कालिनले सोमबार ताइपेइविरुद्धको खेलअघि भन्नुभएको छ ।
गत जेठमा नेपालले चीनको ताइपेइसँग उसकै मैदानमा १–१ ले बराबरीमा खेलेको थियो । यद्यपि प्रशिक्षक कालिनले मैत्री खेल र प्रतिस्पर्धात्मक खेलबीच ठूलो भिन्नता हुने भन्दै सोही नतिजाको भरमा खेल्न नहुने बताउनुभयो ।
गत मार्चमा मात्र नेपालले कुवेतसँग उसकै मैदानमा दुई मैत्री खेल खेलेको थियो । जसमा नेपालले एक खेल बराबरीमा खेलेको थियो भने अर्को खेल १–० ले हारेको थियो । तर विश्वकप छनोटमा नेपाल सात गोलले पराजित भयो । सोही अप्रत्यासित नतीजाले पनि प्रशिक्षक कालिन सशंकित बन्नुभएको हो ।
शनिबार बिहान नेपाल फर्केको नेपाली टिम सोही रात ताइपेई प्रस्थान गरेको थियो । त्यसैले पनि प्रशिक्षक कालिनले लामो यात्राले खेलाडीका केही थकान भएको भन्दै यस खेलका लागि हल्का प्रशिक्षण गरेको र खेलसम्म खेलाडीहरूले पर्याप्त विश्राम पाइसक्नेछ विश्वास व्यक्त गर्नुभयो ।
‘फिफा वरीयतामा ताइपेइ हामीभन्दा माथि रहेको टिम हो । त्यसैले यो समूहमा ताइपेइलाई कमजोर मान्यौँ भने त्यो गलत हुनेछ । ताइपेई बलियो टिम हो र भोलि प्रतिस्पर्धात्मक खेल हुनेछ । ताइपेईविरुद्ध सकारात्मक नतिजा निकाल्न हामीले रणनीति बनाएका छौँ तर यसलाई हामी खेलअघि खुलासा गर्न सक्दैनौँ । यदि हामीले राम्रो प्रदर्शन गर्यौँ भने ताइपेईबाट अवश्य अङ्क लिएर घर फर्कनेछौँ– प्रशिक्षक कालिनले थप्नुभयो ।
यसैगरी, नेपाली टिमका कप्तान किरण चेम्जोङले ताइपेइविरुद्ध खेल्न नेपाल तयार छ, भन्नुभयो । ‘हामीले हिजो हल्का अभ्यास गरेका छौँ । आज खेल हुने मैदानमा नै अभ्यास गर्नेछौँ । चाइनिज ताइपेइविरुद्धको खेलका लागि गृहकार्य पनि राम्रो भएको छ । हामी ताइपेईको सामना गर्न तयार छौँ– उहाँको भनाई छ ।
यसैगरी ताइपेईका प्रशिक्षक लुइस लान्कास्टरले नेपाललाई दबाब दिएर खेल्ने बताउनुभयो । ‘घरेलु मैदानमा शतप्रतिशत दिएर उच्च स्तरको फुटबल खेल्नेछौँ । नेपालविरुद्ध हारेपनि मैदान छोड्दा पश्चाताप नहोस् । यद्यपि यो हाम्रो लागि जित्नै पर्ने खेल हो र जितकै लागि खेल्नेछौँ । मेरा फरवार्डले पाएका मौकाको सदुपयोग गर्नेछ भन्ने आशा छ । यदि यसमा असफल भयौँ भने दबाब उल्टै हामीमा आउनेछ’ प्रशिक्षक लान्कास्टरले भन्नुभयो ।
ताइपेई पनि आप्mनो पहिलो खेलमा जोर्डनसँग २–१ ले पराजित भएको थियो । यो समूहमा अस्ट्रेलिया पनि रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?