logo
२०८० चैत्र १६ शुक्रवार



उदयपुरमा कोरोना सङ्क्रमणबाट कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु

प्रदेश |


उदयपुरमा कोरोना सङ्क्रमणबाट कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु
फाइल तस्बिर


भक्तिविलास पोखरेल
गाईघाट, वैशाख २८ गते । कोरोना सङ्क्रणबाट उदयपुरमा एक जना कार्यालय प्रमुखसहित तीन जनाको मङ्गलबार मृत्यु भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार सिरहाको लहान बजारमा घर भएका ३४ वर्षीय ती कार्यालय प्रमुख यही वैशाखको पहिलो साता कार्यालयबाटै कोरोना भाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि काठमाण्डौँको टिचिङ् अस्पतालमा भर्ना हुनुभएकोमा उपचारकै क्रममा उहाँको सोमवार राती मृत्यु भएको हो ।
दुईवर्ष पहिले मात्रे वैवाहिक जीवन शुरु गर्नुभएको उहाँको यही वैशाख १३ गते पहिलो सन्तानको रुपमा छोरा जन्मिएको सो कार्यालयका एक कर्मचारीले बताउनुभयो । त्यसैगरी कोरोनाबाट सङ्क्रमित त्रियुगा नगरपालिका वडा नं ८ का ५४ वर्षिय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको छ ।
ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि बैशाख २३ गते अस्पताल भर्ना हुनुभएका उहाँलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको नोवेल अस्पताल विराटनगरका प्रबन्धक नारायण दाहालले बताउनुभयो । उहाँकोे मङ्गलबार बिहान सवा ५ वजेको समयमा मृत्यु भएको प्रबन्धक दाहालले बताउनुभयो ।
त्यसैगरी विराटनगरस्थित कोसी अञ्चल अस्पताल कोभिड फोकल पर्सन वैजनाथ साहका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ की ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना पोजेटिभ भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख २६ गते उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मङ्गलबार बिहान १ः३० बजे निजको मृत्यु भएकोउहाँले बताउनुभयो ।
योसँगै उदयपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । सोमवारसम्म उदयपुर जिल्लामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या दुईसय ३९ पुगेको छ । त्यसमध्ये पुरुष एकसय ३५ र महिला एकसय ४ छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार सोमबार मात्रै ३३ जना महिला र २७ जना पुरुषमा सङ्क्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?