logo
२०८१ बैशाख ८ शनिवार



यूएइ क्रिकेटका प्रशिक्षक ब्राउन बर्खास्त, रोबिन सिंह निर्देशक नियुक्त

खेलकुद |


यूएइ क्रिकेटका प्रशिक्षक ब्राउन बर्खास्त, रोबिन सिंह निर्देशक नियुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १ गते । यूनाइटेड अरब इमिरेट्स(यूएइ) क्रिकेट बोर्डले आफ्नो प्रमुख प्रशिक्षक डग्गि ब्राउनलाई बर्खास्त गरेको छ । अलराउण्डर ब्राउन स्कटल्याण्ड र इंग्ल्याण्डको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको छ ।
यूएइ क्रिकेट बोर्डले भारतका पूर्व अलराउण्डर रोबिन सिंहलाई क्रिकेटको नयाँ निर्देशकको जिम्मेवारीमा नियुक्त गरेको छ । रोबिन सिंहसँग हङकङ र संयुक्त राज्य अमेरिकाको प्रशिक्षकको जिम्मेवारी सम्हालेको अनुभव छ । हाल उहाँ इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्समा आबद्ध हुनुहुन्छ । सँगै यूएइको टी टेन लिगमा समेत प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्छ ।
टी ट्वान्टी विश्वकप छनोटको पूर्वसन्ध्यामा कप्तानसहित यूएइका तीन खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको भ्रष्टाचार मुद्दामा निलम्बनमा पर्दा ब्राउन टोलीका प्रशिक्षक हुनुहुन्थ्यो । प्रमुख खेलाडीको अनुपस्थितिमा पनि यूएइले समूह बीको छ खेलमध्ये चारमा जित हात पारेको थियो । आयरल्याण्ड विरुद्ध ठूलो अन्तरको जित हात पार्दै यूएइ प्ले अफका लागि स्थान सुनिश्चित गरेको थियो ।
उहाँ सन् २०१७ को मईमा प्रशिक्षकको जिम्मेवारीमा नियुक्त हुनुभएको थियो । स्कटल्याण्ड, अमेरिका, ओमान र नामीबिया विरुद्धको श्रृखंलामा खेलाडी छनोट समिति भङ्ग हुँदा ब्राउन नै छनोटकत्र्ताको जिम्मेवारी पाउनुभएको थियो ।
२०१८ मा विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनशिपमा कमजोर प्रदर्शनपछि डिभिजन दुईमा धकेलिएपनि उसको अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता खोसिएको थिएन ।
नेपालले पपुवान्यूगिनीसँग आगामी जुन महिनामा यूएइ सम्मिलित त्रिदेशीय श्रृखंला खेल्नेछन् । लिग डिभिजन दुईमा यूएइ आफ्नो सात खेलमध्ये तीनमा जित हात पारेर अङ्कतालिकाको पाँचौं स्थानमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?