logo
२०८० चैत्र १६ शुक्रवार



जापानको आँधीमा ११ जनाको मृत्यु, जनजीवन प्रभावित   

अन्तर्राष्ट्रिय |


जापानको आँधीमा ११ जनाको मृत्यु, जनजीवन प्रभावित   


   
टोकियो, असोज २६ गते । जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् ।    
आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि आइतबार सेना पनि परिचालन गरिएको छ ।    
    
आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घरहरु डुबानमा परेका छन् । जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले बताएका छन् ।    
    
आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ, तर मध्य जापानको नागानोमा भने बाढीको खतरा देखिएको छ । नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीहरुले बताएका छन् ।    
    
जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसहरुले घरका झ्याल र बाल्कोनीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।    
    
नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरुले प्रसारण गरिरहेका छन् ।    
    
नागानो शहरका एक अधिकारी यासुहिरो यामागुचीले गएराति स्थानीय ४२७ घरपरिवारका एक हजार ४१७ व्यक्तिलाई घर छाड्न अनुरोध गरिएको जानकारी दिनुभयो ।    
    
हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । हालैका वर्षहरुमा यो निकै शक्तिशाली आँधी हो । यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो ।    
    
जापानी टेलिभिजन एनएचकेका अनुसार कम्तीमा ९९ जना घाइते भएका र एक दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?