logo
२०८० चैत्र १६ शुक्रवार



अस्पताल बनाउन श्रेष्ठ दम्पतीबाट ४० लाख बराबरको जग्गा दान

खुला |
प्रदेश |


अस्पताल बनाउन श्रेष्ठ दम्पतीबाट ४० लाख बराबरको जग्गा दान


अमरराज नहर्की
तनहुँ, माघ ९ गते । तनहुँका एक समाजसेवी दम्पती गाउँमै अस्पताल बनाउन ४० लाख मूल्य पर्ने जग्गा दान गर्नुभएको छ । भिमाद नगरपालिका–८ को भानुमतिका गोपाल श्रेष्ठ र उहाँको श्रीमती जुनकुमारी श्रेष्ठले जग्गा दान दिनुभएको हो । उहाँहरुले ५ रोपनी ८ आना जमिन दान गर्नुभयो ।

आफूहरूलेजस्तै आउने पुस्ताले पनि गाउँमै उपचार नपाएर छटपटाउनुपर्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले जग्गा दान गरेको समाजसेवी दम्पतीकाे धारणा छ । भिमाद नगरपालिका ८ स्थित भानुमतिमा सडक छेउमा रहेको जमिन प्राप्त भएपछि मनकारी श्रेष्ठ दम्पतीलाई स्वास्थ्य चौकी उद्घाटनको अवसरमा हालै सम्मान गरिएको छ ।

भिमाद नगरपालिका प्रमुख मेखबहादुर थापाले सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गर्नुभयो । समाजसेवी श्रेष्ठ दम्पत्तीले सबैलाई पायक पर्ने र सडक सञ्जालसँग जोडिएको जग्गा दान गर्नुभएकाले अस्पताल बनाउन सहज भएको सो वडाका वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो ।

साविक भानुमति गाविसका अध्यक्ष गोपाल श्रेष्ठले आफ्नो सक्रियतामा गाउँको विद्यालयको स्तरोन्नतिसहित सडक र खानेपानीको पूर्वाधार विकास गर्न भूमिका खेल्नुभएको थियो । श्रेष्ठ दम्पती रोपनीको ७ लाखभन्दा बढी पर्ने ४० लाख मूल्य बराबरको जग्गा दान दिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
‘‘समयमै गाउँबासीको उपचार सम्भव होस् भनेर अस्पताल निर्माणका लागि मैले जग्गा दान गरेको हुँ’’ श्रेष्ठले भन्नुभयो । एक करोड ७१ लख ३५ हजार ८३६ लागतमा बनेको भानुमती स्वास्थ्य चौकीबाट बर्थिङ सेवासहितको स्वाथ्य उपचार हुने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सङ्घीय सरकारको एक वडा एक स्वास्थ्य केन्द्र अभियान अन्तर्गत बनेको स्वाथ्य चौकीबाट भिमाद नगरपालिका ७ र ८ का ग्रामीण भेग र वडा–९ का वडावासी लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?