logo
२०८० चैत्र १६ शुक्रवार



अरुण–४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्राधिकरणलाई

अर्थ |


अरुण–४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्राधिकरणलाई
सांकेतिक तस्बिर


काठमाडौं, कात्तिक ८ गते । सरकारले अरुण नदीमा पहिचान भएको ४९० मेगावाट क्षमताको अर्धजलाशयुक्त अरुण–४ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई दिने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अरुण–४ आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई दिइएको पुष्टि गर्नुभयो ।

विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत् विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । प्राधिकरणले आयोजनाको लाइसेन्स आज प्राप्त गरेको छ । अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युतगृहभन्दा तल्लो भागमा पर्दछ । अरुण–४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले एक हजार ५५१ मेगावाटका दुई आयोजना एकसाथ अगाडि बढाउनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी एक हजार ५५१ मेगावाटको आयोजनाको निर्माण समानान्तररुपमा ‘जनताको जलविद्युत् कायक्रम’अन्तर्गत अगाडि बढाइने जानकारी दिनुभयो ।
“अरुण–४को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा हो, माथिल्लो अरुण र अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण तथा लगानी मोडालिटी एक/डेढ वर्षभित्रमा टुङ्ग्याएर अगाडि बढाउँछौँ”, घिसिङले भन्नुभयो ।

आयोजनाबाट प्राप्त हुने लाभ आम नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि शेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिनेछ । विभागले अरुण–४ लाई नदीको बहावमा आधारित आयोजनाका रुपको रुपमा पहिचान गरेको थियो । माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४ लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो ।

अरुण–४ को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी तथा लेक्सेवा दोभानभन्दा करिब १३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिनेछ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेंसीमा भूमिगत विद्युतगृहमार्फत विद्युत् उत्पादन गरिनेछ ।

विद्युतगृहबाट विद्युत उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमा खसालिनेछ । आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युतगृह र बाँध क्षेत्र क्रमशः करिब ६२ र ७७ किलोमिटर टाढा छन् । कोसी राजमार्गअन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडकखण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युतगृह क्षेत्र पुग्ने करिब दुई किलोमटर ग्रामीण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ ।

विभागले गरेको अध्ययनअनुसार आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब रु. ६५ अर्ब) छ । आयोजनाबाट वार्षिक दुई अर्ब नौ करोड युनिट ऊर्जा उत्पादन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?