logo
२०८० चैत्र १६ शुक्रवार



एमालेको वडा अधिवेशन हुँदै, अध्यक्ष ओलीद्वारा भर्चुवल उदघाटन

राष्ट्रिय |


एमालेको वडा अधिवेशन हुँदै, अध्यक्ष ओलीद्वारा भर्चुवल उदघाटन


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको परिकल्पनाकार, निर्माता र सञ्चालक एमाले रहेको बताउनुभयो । लोकतन्त्रको अगुवाईसहितको सहभागिता आफूहरुले गरिरहेको उहाँले दावी गर्नुभयो ।

पार्टीको देशव्यापी वडा अधिवेशन भर्चुवलमार्फत आज उदघाटन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । “लोकतन्त्र अरुले ल्याइदिएर हामीले स्वीकारेको होइन, लोकतन्त्र हाम्रो आदर्श हो, मूल्य मान्यता हो” उहाँले भन्नुभयो । एमालेले आज एकसाथ ६ हजार ७४३ वडामा पार्टीको वडा अधिवेशन गरिरहेको छ ।

प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्ने नीति आफ्नो दलको भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले साझा स्वीकार्यता पनि प्रतिस्पर्धा भएको बताउनुभयो । विवेकसम्मत, उन्नतस्तरको लोकतन्त्रको अभ्यासमा आफूहरु रहेको उहाँले दावी गर्नुभयो । भर्खर सम्पन्न भएको पार्टीको प्रथम विधान महाधिवेशनमा पनि उच्चस्तरको लोकतान्त्रिक प्रणालीको अभ्यास भएको उहाँले बताउनुभयो ।

सबैको भावनालाई स्वीकार गर्दै सर्वसम्मत निर्णय एमालेले गरिरहेको चर्चा गर्नुहुँदै अध्यक्ष अ‍ोलीले अहिलेको माग पनि उन्नतस्तरको लोकतान्त्रिक व्यवस्था रहेको बताउनुभयो । विधान महाधिवेशनमा स्वस्थरुपले समूह छलफल गरी निस्कर्षमा पुगिएको चर्चा गर्नुहुँदै पार्टीमा व्यक्तिको होइन, विचार, संगठन र अभिभाराको आवश्यकता हुने बताउनुभयो । “हामी सर्वसम्मतिमा जोड दिएका छौं, हाम्रो पार्टीलाई मजबुत र सक्षम बनाउने अभियानमा छौं” अध्यक्ष ओलीले भन्नुभयो ।

देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमनमा व्यवधान खडा गर्ने काम भइरहेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले देश प्रतिगमनतर्फ उन्मुख भइरहेको बताउनुभयो । जनतामा रहेको सार्वर्भामसत्ता खोसिने प्रयास प्रतिगामी गतिविधि भएको पनि उहाँले टिप्पणी गर्नुभयो । जनताले पत्याएको असली शक्ति एमाले भएको दावी गर्नुहुँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले पुनः पहिलो पार्टी बन्ने बताउनुभयो ।

समावेशीता जात, भूगोलको आधारमा मात्र होइन, विषयगत भिन्नता, राष्ट्र निर्माणमा सम्पूर्ण पक्षको समावेशीताको कुरा उठाएका छौं अध्यक्ष ओलीले भन्नुभयो, “एमाले क्षमताहरुको पुञ्ज हो, समृद्ध नेपाल र सुखी नेपाली बनाउने सक्षम नेतृत्व भएको पार्टी हो ।” एमाले सामाजिक जागरणको अभियनताको रुपमा भूमिका निर्वाह गरिरहेको पनि उहाँले बताउनुभयो ।

एमालेले कात्तिक ९ गते मंगलबार पालिकास्तरको अधिवेशन गर्ने कार्यतालिका बनाएको छ । पार्टीको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय पनि एमालेले गरिसकेको छ । त्यसको तयारीकालागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय महाविधेशन व्यवस्थापन समिति गठन गरी तयारी थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?