logo
२०८० चैत्र १६ शुक्रवार



प्रेमिका हत्याका आरोपी कारागार चलान

प्रदेश |
समाज |


प्रेमिका हत्याका आरोपी कारागार चलान



चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ६ गते । ताप्लेजुङमा आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा एक युवकलाई कारागार चलान् गरिएको छ । प्रेमिकाको हत्या गरेको आरोप लागेका फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भएकी आफ्नै प्रेमिका १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको हत्या गरेको आरोपमा गत असोज १० मा कार्की पक्राउ परेका थिए । हत्या गरिएकी पुष्पाका आफन्तले दिएको किटानी जाहेरीपछि पक्राउ परेका कार्कीलाई जिल्ला अदालतको थुनछेक आदेशअनुसार शुक्रबार ताप्लेजुङ कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सदरमुकाम फुङ्लिङको बिहीबारे टोलमा डेरा गरी बसेर कक्षा ११ मा अध्ययनरत पुष्पाको प्रेमी कार्कीले असोज ८ गते बिहान हत्या गरेका थिए । सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–४ र वडा नं. ७ को सिमानामा पर्ने सेती चौतारास्थित निगाले भीरमा हत्या गरेर फालेको अवस्थामा पुष्पाको शव फेला परेको थियो ।
प्रहरी अनुसन्धानको क्रममा डेरा बसेको कोठा नजिकबाट मोटरसाइकलमा चढाएर सेती चौतारामा पु¥याएपछि मरणासन्न हुनेगरी टाउकोमा ढुङ्गाले प्रहार गरेर भीरमा धकेलेको र अन्तिममा विषसमेत खुवाएर कार्कीले पुष्पाको हत्या गरेको खुलेको थियो । उक्त दिन पुष्पाको हत्या गर्नुअघि कार्कीले जबरजस्ती करणी गरेका थिए ।
त्यस्तै शुक्रबार नै जबरजस्ती करणी मुद्दामा पनि एक युवकलाई कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक राकेश यादवका अनुसार फुङ्लिङ नगरपालिका–७ दोखुका २५ वर्षीय ज्ञानु भनिने आयुस पालुङ्वा पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका हुन् ।
स्थानीय एक ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो । उक्त जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत ताप्लेजुङले दिएको थुनछेक आदेशअनुसार पालुङ्वालाई कारागार चलान गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?