logo
२०७८ असोज ३१ आईतवार



स्मृति विम्बमा आनन्ददेव

विचार/दृष्टिकोण |


स्मृति विम्बमा आनन्ददेव


हरिहर खनाल

चुरे पर्वतको काखमा रहेको सञ्झोट प्रगन्नाको पिपरियास्थित प्राथमिक विद्यालयको हेडमास्टर म थिएँ । कुरा २०२३ साल साउन महिनातिरको हो । राप्ती नदीपारिको त्यही देहाती गाउँबाट जिल्ला सदरमुकाम भरतपुरतिर जाँदै गर्दा अहिलेको सौराहा चोकनजिकै बर्खाको बाढीको सामना गर्नुपरेको थियो । त्यही ठाउँमा अलपत्र यात्रुका लहरमा म थिएँ । खोला किनारमा अलपत्र यात्रुको त्यो भीडमा छरितो र फुर्तिलो जिउडालका एक युवकलाई देखेको थिएँ । अल्फा परेको कालो बाक्लो कपाल सीधै माथि फर्काएर कोरेको ।
गोरो अनुहारमा पावरवाला चस्मा लगाएका ती युवक त्यस्तै ३०–३२ वर्षका जस्ता देखिन्थे । “को होलान् यी ?” यस्तै प्रश्न उब्जेका थिए मनमा । पछि थाहा लाग्यो, अलपत्र यात्रुका रूपमा खोला किनारमा उभिएका ती युवक वीरेन्द्र इन्टर कजेल भरतपुरका प्राचार्य आनन्देव भट्ट पो हुनुहुँदो रहेछ । पछि म उहाँको विद्यार्थी हुन पुगेँ, त्यतिबेलाको वीरेन्द्र इन्टर कलेज भरतपुरमा ।
उहाँले हामीलाई एकाध कक्षा पनि लिनुहुन्थ्यो । हृषिकेश शाहको हिरोज एन्ड बिल्डर्स अफ नेपाल र चार्लस् डिकेन्सको ए टेल अफ टु सिटिज् पढाउनुहुन्थ्यो । एक दिन हामीलाई पढाइरहेको अवस्थामा उहाँलाई पुलिसले पक्राउ गरी लग्यो । त्यसको विरोधमा विद्यालय हड्ताल ग¥यौँ । त्यतिबेला नारायणी अञ्चलका अञ्चलाधीश हुनुहुन्थ्यो, दामोदरशमशेर राणा । दामोदरशमशेर चितवन आउँदा घेरा हालेर गुरुको रिहाइको माग ग¥यौँ । जनदबाब थेग्न नसकेर केही दिनपछि भट्ट सरको रिहाइ भयो ।
आनन्ददेव भट्ट आफ्ना समयका एक कुशल राजनीतिज्ञ, निर्भीक, निडर र प्रखर वक्ता हुनुहुन्थ्यो । प्रतिभाशाली कवि, समालोचक, निबन्धकार र उदार हृदयका धनी व्यक्तित्व उहाँमा थियो । समष्टिमा उहाँले नेपाली समाजलाई दिनुभएको योगदानको मूल्यवत्ता अतुलनीय छ । नेपाली वाङ्मयको क्षेत्रमा उहाँको योगदान प्रशंसनीय, वन्दनीय र स्तुत्य छ । जीवनको उत्तरार्धमा पुग्दासमेत उहाँको निष्ठा, लगन र कर्तव्यबोध प्रशंसनीय थियो ।
आनन्ददेव भट्टको जन्म १९९३ साल असोज २५ गते शनिबारका दिन जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा भएको थियो । त्यतिबेला उहाँका बुवा जयदेव भट्ट जुम्ला अदालतको मुखिया पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँको पास्नीपछि हजुरबाले आमा हीरादेवी र आनन्ददेवलाई मूल घर बैतडीमा लैजानुभएको थियो ।
पाल्पा तानसेनको सिलखान टोलस्थित नेपाली भाषा पाठशालाबाट विद्यालय शिक्षा थाल्नुभएका भट्टले पाल्पा तानसेनमा २००४ सालमा स्थापित ‘पद्मोदय’ पाल्पा पब्लिक हाइस्कुलबाट कक्षा ८ पास गर्नुभयो । त्यसपछि साहिँला बुवा लवदेव भट्टसँगै काठमाडौँ प्रवेश गर्नुभएका भट्टले २०१० सालभित्र आईएको सप्लिमेन्टरी परीक्षा पूरा गर्नुभयो ।
भट्ट सर २००८ सालको मध्यसम्ममा नेपाल कम्युनिस्ट पार्टीको सङ्गठित सदस्य भइसक्नुभएको थियो । त्यसैले उहाँलाई सरकारी रात्रि कलेज (नेपाल नेसनल कलेज)मा पढ्नुपर्ने अनिवार्यता हुन गयो । नेपाल नेसनल कलेजबाट स्नातकोत्तर अध्ययन सकेपछि उहाँले पटनाबाट अङ्ग्रेजीमा स्नातकोत्तर गर्नुभयो । २०१७ साल साउनदेखि धनकुटा डिग्री कलेजबाट अध्यापन थाल्नुभएका भट्टले धरानस्थित महेन्द्र डिग्री कलेजमा अङ्ग्रेजीको प्राध्यापकका रूपमा पढाउन थाल्नुभयो । उहाँले २०२२ माघदेखि २०३० सालसम्म वीरेन्द्र इन्टर कलेजमा प्रिन्सिपलको हैसियतले काम गर्नुभयो । त्रिभुवन विश्वविद्यालयमा ३३ वर्षको शैक्षिक सेवाबाट भट्ट सरले स्वेच्छिक अवकाश लिनुभएको थियो ।
आनन्ददेव भट्टका व्यक्तित्वका खासगरी शैक्षिक, साहित्यिक र राजनीतिक गरी तीन पाटा छन् । उच्च शिक्षाका क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका शिक्षाविद्, नेपाली वाङ्मय क्षेत्रका सुपरिचित समालोचक, कवि, निबन्धकार तथा निर्भीक र प्रखर वक्ताका रूपमा उहाँको ख्याति छ ।
प्राध्यापन र राजनीतिसँगै आनन्ददेव भट्टको व्यक्तित्वको अर्को सबल पाटो भनेको साहित्य सिर्जना हो । साहित्य सिर्जनाप्रतिको रुचि आपूmभित्र मूलतः केही न केही अंशमा भित्रैबाट टुसाउन खोजेको हुनुपर्छ भन्ने मान्यता थियो उहाँको । कुनै व्यक्तिले सर्जकको अव्यक्त आह्वानलाई समात्छ भने उसले त्यसको मिठासलाई अनुभव गर्न थाल्छ र त्यसले सिर्जनालाई प्रस्फुरण हुनमा सघाउ पुग्छ भन्ने धारणा उहाँ राख्नुहुन्थ्यो । एउटा चिन्तनशील मानिस आफ्नो विचार र भावनाबारे घोत्लिन थालेपछि उसले एउटा न एउटा विषय नभेट्टाई छोड्दैन भन्नेसमेत धारणा उहाँको थियो ।
साहित्य सिर्जनामा भट्ट वहुविद् सर्जक हुनुहुन्थ्यो । कविता, काव्य, समालोचना, निबन्ध, दर्शन, अनुवाद आदि अनेक विधामा कलम चलाए पनि उहाँका प्रिय विधा चाहिँ समालोचना र निबन्ध थिए । कविवर सिद्धिचरण श्रेष्ठलाई आफ्नो कविता सिर्जनाका प्रेरणा स्रोत मान्ने भट्टका कविताहरू २०१३ सालबाट प्रकाशित हुन थालेका हुन् । भट्टले २०१५ सालमा एकैचोटि तीनवटा कृति अब हिमालय बोल्छ (कविता), ९७ साल (खण्डकाव्य) र गुराँस (कविता सङ्ग्रह) प्रकाशन गर्नुभएको थियो । त्यसरी नै २०१६ सालमा ओमरखैयामलाई जवाफ (काव्य), जोवनकै थुम्कोबाट (काव्य), आमा बोलाउँछिन् (कविता सङ्ग्रह) प्रकाशित भए । यसरी नै २०१७ सालमा कवि द्वारिका श्रेष्ठको शीतको थोपा कविता सङ्ग्रहमाथि लेखिएको उहाँको पहिलो समालोचना शारदामा प्रकाशित भयो । त्यसपछि भैरव अर्यालका कवितामाथि लेखिएको समालोचना २०१८ सालमा रचना साहित्यिक पत्रिकाले प्रकाशित ग¥यो । २०१७ सालमा नै तिमीलाई देख्दा (काव्य) र २०१८ सालमा साहिँली मैँया (खण्डकाव्य), २०१९ सालमा युरी एलेक्सएभिच गागरिन (काव्य) र समालोचनाको बाटोतिर (समालोचना सङ्ग्रह), हाम्रा प्रतिभाहरू (जीवनीपरक समीक्षा सङ्ग्रह) तथा २०२० सालमा नर्वेली नाटककार हेनरिक इब्सेनको ब्ल भ्लझथ या तजभ उभयउभि नाटकको अनुवाद जनताको शत्रु प्रकाशित भए । यसरी २०१३ देखिपछिको यो अवधि भट्टको सिर्जनाकर्मको निकै राम्रो उर्वर समय देखिन्छ ।
२०२० पछिका करिब साढे दुई दशकसम्म कुनै नयाँ कृतिहरू प्रकाशनमा नआएका भए पनि त्यसपछिका तीन वर्षमा उहाँका जगत्को सृष्टि र सञ्चालन प्रक्रिया (दर्शन २०४६), प्रतिभा पहिचान (जीवनीपरक समीक्षा सङ्ग्रह २०४७) स्वतन्त्रता र कम्युनिस्ट (राजनीतिक लेख सङ्ग्रह २०४८), जनताको साहित्य (सैद्धान्तिक साहित्य समीक्षा २०४८), दृष्टिबिन्दु (किशोर साहित्य २०४८) र केही आत्मपरक निबन्धहरू (२०४९) प्रकाशित भए । त्यही बीचमा उहाँका भाषासम्बन्धी केही पुस्तिकाहरूसमेत जनसमक्ष आएको पाइन्छ ।
यो प्रकाशन शृङ्खलाको लगभग १८ वर्षको समयावधिपछि २०६७ सालमा उहाँको समीक्षात्मक कृति समय साहित्य प्रकाशनमा आयो । त्यसको सात वर्षपछि २०७४ असारमा धरतीदेखि आकाशसम्म र समय र जीवन शीर्षकमा फ्रान्सेली क्रान्ति नायक रोबेस्पियर तथा रुसी महान् लेखक तोल्सतोईको सङ्क्षिप्त जीवनीसम्बन्धीे अनुदित कृतिहरू प्रकाशनमा आए ।
पञ्चायती व्यवस्थाविरुद्ध लोकतान्त्रिक आन्दोलनका हरेक मोर्चामा अग्रपङ्क्तिमै रहेर आनन्ददेव भट्ट सहभागी हुनुभयो । २०४६ सालको जनआन्दोलनकै क्रममा पोखराको पृथ्वीनारायण क्याम्पसमा छात्रछात्रामाथि राज्य पक्षबाट भएको बर्बर दमनको जाँचबुझका निम्ति त्रिभुवन विश्वविद्यालयद्वारा प्राध्यापक बीसी मल्ल, प्रा. आनन्ददेव भट्ट र प्रा. कृष्ण खनाल रहेको तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको थियो । पोखरा घटनाका विषयमा निरीक्षणबाट फर्केपछि त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा उहाँले घटनाका सम्बन्धमा निर्धक्क भएर धारणा राख्नुभएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा उहाँको त्यो अभिव्यक्ति उच्च सम्मानका साथ स्मरण गर्न लायक छ ।
आनन्ददेव भट्ट एक निस्वार्थी र उदारमना व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले राज्यका तर्फबाट एक लाख रुपियाँ राशिको प्रतिभा पुरस्कार पाउनुभएको थियो । उहाँले त्यो रकम प्रलेस प्रतिभा पुरस्कार स्थापनार्थ प्रगतिशील लेखक सङ्घ केन्द्रीय कार्यालयको कोषलाई दान दिनुभयो । शहीद दशरथ चन्दको नाममा पुरस्कार स्थापनार्थ दुई लाख रुपियाँ प्रदान गर्नुभयो । जीवनको उत्तरार्धतिर नेपाल प्रज्ञा प्रतिष्ठानले उहाँलाई आजीवन सदस्यता प्रदान गरेर ढिलै भए पनि उच्च आदर गरेको महसुस हुन्छ ।
उहाँको जीवनका तीन महìवपूर्ण पाटामध्ये उहाँलाई कम सफलता प्राप्त भएको पाटो भनेको राजनीतिक क्षेत्र हो । त्रिभुवन विश्वविद्यालयको लामो शिक्षण सेवाबाट निवृत्त भएपछि २०५२ सालमा उहाँ आफ्नो पुख्र्यौली गाउँ बैतडी फर्कनुभयो, पार्टीको पूर्णकालीन कार्यकर्ता भएर तर उहाँलाई राजनीतिमा सफलता हात लागेन ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?