logo
२०८० चैत्र १५ बिहीवार



पहिलो औद्योगिक ग्राम स्थापना

अर्थ |


पहिलो औद्योगिक ग्राम स्थापना


अछाम समाचारदाता

मेल्लेख (अछाम), असोज ८ गते । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा पहिलो औद्योगिक ग्राम मेल्लेख गाउँपालिकामा सञ्चालनमा आएको छ । गाउँपालिकाको सुयडा भन्ने स्थानमा ६६ लाख रुपियाँभन्दा बढी लगानीमा भौतिक र उपकरण जडान गरेर औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको हो ।
निःशुल्क प्राप्त ४० रोपनी जग्गामा ४९ लाख ४८ हजारमा तीनवटा भवन निर्माण गरेर गार्मेन्ट उद्योगसँगै औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको छ । स्थानीय अगुवा गोविन्द खड्काले गार्मेन्टको उद्योग स्थापना गरेसँगै ग्राम उद्योग सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराको भनाइ छ । उद्योग ग्राममा १७ लाखका उपकरण जडान गरिएको बताइएको छ । सो ग्राममा गार्मेन्ट उद्योगसँगै अन्य उद्योगहरू सञ्चालनको तयारी भइरहेको गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाहीले बताउनुभयो । औद्योगिक ग्रामको पूर्ण संरचनाका लागि १७ करोड रुपियाँ खर्च हुने गरी गाउँपलिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । क्रमिक रूपमा औद्योगिक बिस्तालाई जोड दिइरहेको गाउँपालिका अध्यक्ष बोहराले जनाउनुभयो ।
गाउँपालिकाले उद्योग ग्राम स्थापना गरेर औद्योगिक विकासको थालनी भएको उद्योग वाणिज्य सङ्घ अछामका अध्यक्ष महेन्द्र कडायतले बताउनुभयो । उद्योगको विकासको सम्भावना भएर आफू काठमाडौँबाट आएर गार्मेन्टमा लगानी गरेको स्थानीय अगुवा गोविन्द खड्काले बताउनुभयो । “गाउँपालिकाको उत्साह र सम्भावना देखेर गार्मेन्ट उद्योगमा लगानी गरेको छु । बजारीकरण पनि राम्रै हुन्छ भन्ने सोचेको छु” खड्काले भन्नुभयो । सुरुवाती औद्योगिक उत्पादनमा जोड दिएर बजारीकरणले स्थानीय आर्थिक अवस्थामा परिवर्तन ल्याउने उहाँले उल्लेख गर्नुभयो ।
उद्योग ग्राम स्थापनाले आफूले उत्पादन स्थानीय सामग्री बिक्री गर्न सहज भएको स्थानीय भ्वानसिंह टमट्टाले जनाउनुभयो । उद्योग ग्राम स्थापनाका निमित्त स्थानीय दलबहादुर साउद, रनी साउद, इन्द्र साउद र नयाँ साउदले ४० रोपनी जग्गा निःशुल्क दान गर्नुभएको थियो ।
प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गरेर सञ्चालनमा ल्याउने नेपाल सरकारको नीतिअनुसार आर्थिक वर्ष २०६७÷७७ देखि औद्योगिक ग्राम घोषणा गरिँदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?