logo
२०८१ बैशाख ७ शुक्रवार



परम्परागत घुमाउने घर संरक्षणमा जुटे युवा

समाज |


परम्परागत घुमाउने घर संरक्षणमा जुटे युवा


अमरराज नहर्की
तनहुँ, असोज ६ गते । विदेशमा धन कमाउन गएका अधिकांश युवा गाउँ फर्किएपछि आधुनिक सिमेन्ट घर बनाउने गर्छन् तर तनहुँका एक युवक ६० वर्ष पुरानो पूख्र्यौली आवासको संरक्षणमा जुट्नु भएको छ । संरक्षणमा जुट्नेमा व्यास नगरपालिका–१० बैरेनीका भेषबहादुर दरै हुनुहुन्छ । खाडीमुलुक मलेसिया, कतार र साउदीअरब रोजगारी गरेर आएपछि पनि उहाँले विदेशको देखासिकी आधुनिक घर बनाउनु भएन ।
पारिवारिक चाहाना त गाउँठाउँमा आधुनिक घर बनाउने नै थियो मौलिक संस्कृति बोकेको जलवायु मैत्री घरलाई लोप हुन नदिन मौलिक शैलीमा नै सवलीकरण गर्दै भेषबहादुर र उहाँको परिवार मौलिक घुमाउने घरमा बस्दै आएको छ ।
‘‘घुमाउने घर स्वास्थ्यका लागि ठिक, जाडोमा न्यानो र गर्मीमा शितल हुने भएकोले आधुनिक घर बनाएको छैन’’ दरैले भन्नुभयो । विदेशमा एयर कन्डिसन जडान गरिएका आधुनिक महल भन्दा जलवायु मैत्री घुमाउने घरमा बस्दा आनन्द लागेको उहाँले बताउनुभयो । गाउँमा सबैले पुरानो घर भत्काएर आधुनिक सिमेन्टको घर बनाएपनि दरैको एक मात्र घुमाउने घर रहेको छ ।
भेषबहादुरको आमा सुकमाया दरै ६० वर्ष पहिलादेखि नै घुमाउने घरमा बसेको, लिपपोत गर्ने छाउन प्रयोग हुने डाँडाभाटा र खरलाई बेलाबेलामा परिवर्तन गरेर बस्नुपरे पनि यसैमा आनन्दित भएको बताउनुुभयोे । ‘‘आमा यो घर नभत्काउनु है भन्छन् सबैले आरसीसी घर बनाए पनि मैलै बनाएको छैन’’ सुकमायाले भन्नुभयो ।
सिमेन्टले बनाईएका घर जाडोमा चिसो धेरै हुने र महँगो पनि हुने भएकोले नबनाएको उहाँले बताउनुभयो । लोपोन्मूख अवस्थामा रहेको घर संरक्षणको लागि धेरै प्रयत्न गर्नेलाई स्थानीय सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने दरै बताउनुुहुन्छ ।
जनशक्ति अभावमा घरको संरक्षण गर्न कठिनाइ भएको सुकमाया बताउनुुहुन्छ । परम्परागतरूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएकाले आधुनिक घर नबनाएको दरै परिवारको भनाइ छ ।
घुमाउने घर छाउने खरसमेत प्रशस्त पाइन छाडेकाले तथा सबै ठाउँमा जस्तापाताको पहुँच राम्रो भएकाले पनि यी घर अब इतिहासमा मात्र सीमित हुने खतरा बढ्दै गएको छ । ‘‘केही वर्षअघिसम्म गाउँमा अधिकांशका घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन्’’ व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले भन्नुभयो । घुमाउने घरमा बस्नका लागि न्यानो र स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने भए पनि पछिल्लो समय धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको उहाँ बताउनुहुन्छ ।
आधुनिक संरचना भित्रिएसँगै परम्परागत घुमाउने घर लोप हुन थालेका हुन् । परम्परागत गोल घर लोप हुँदै गएपछि जिल्लाका पर्यटकीय गाउँमा भने संरक्षण गरिएको छ । घुमाउने घर फाट्टफुट्ट मात्रै देखिएको र हालका पुस्तालाई आधुनिक घर प्रति रुचि धेरै भएकाले संरक्षण गर्न कठिन भएको आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।
आधुनिक शैली भित्रिएसँगै पुरानो शैलीका संरचना भत्काउँदै गर्दा परम्परागत घुमाउने घर लोप हुने अवस्थामा पुगेको भादगाउँ दरै समाजको कोषाध्यक्ष वीरबहादुर दरै बताउनुहुन्छ । घुमाउने घर वातावरण मैत्री र वास्तुशास्त्र अनुकुलको भएकोले संरक्षण गरिनुपर्ने दरै बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?