logo
२०८१ बैशाख ७ शुक्रवार



खोपप्रति विश्वास बढ्दो

मुख्य समाचार |


खोपप्रति विश्वास बढ्दो


सरोज ढुङ्गेल

काठमाडौंँ, असोज ६ गते । राजधानीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । चीनबाट ल्याइएको ४४ लाख मात्रामध्ये दोस्रो मात्रा सिभिल अस्पतालसहित अन्य खोप केन्द्रमा दिइएको हो ।
खोप केन्द्रमा मङ्गलबार दिउँसो अस्पताल परिसरबाट सुरु भएको लाइन तेस्रो लाइन लगाउँदा पनि ठूलो भीड थियो । झन्डै एक हजारको हाराहारीमा मानिस खोप लगाउन लामबद्ध बसेका थिए । उक्त लाइनलाई नियन्त्रण गरी खोप लगाउन नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो । युवा वृद्ध लाइनमा खोप लगाउन उत्सुकताका साथ बसेको देखिन्थे ।

यस्तै थापाथलीस्थित प्रसूति गृहमा समेत कोरोनाविरुद्धको खोप लगाउनेको लाइन युएनपार्क नजिकै पुगेको थियो । सुरुमा कोरोनाविरुद्धको खोप आउँदा प्रयोग गर्न नेपालमा ल्याइएको हो, लगाउनै हुन्न भन्दा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य पत्रकारहरूले त्यसबारे जनचेतना फैलाउने काम गरेका थिए । कतिपय स्वास्थ्यकर्मी र वरिष्ठ चिकित्सकहरू नै कोरोना खोप नेपालमा प्रयोग गर्न ल्याइएको हुनाले लगाउनै हुन्न भन्दै हिँड्थे तर अहिले त्यो अवस्था नभएको बताइन्छ ।
कोरोनाविरुद्धको खोप लगाउन सिभिलमा आउनुभएका अर्जुन बेल्बासे लाइन लाग्दा बेलुकासम्म समय लाग्ने भन्दै कोही साथीलाई फोन गर्दै हुनुहुन्थ्यो । उहाँले लामो लाइन देखेपछि साथीले कालीमाटीस्थित एक विद्यालयमा लाइन नभएको खबर पाएर उहाँ कालीमाटी जानुभएको थियो । बेल्बासेले सुरुमा खोपप्रति आफूलाई पत्यार नलागेको भन्दै दोस्रो लहरमा भने कोरोनाबाट बच्न खोप नै अचुक औषधि रहेछ भन्ने बुझेको बताउनुभयो ।

यस्तै उक्त अस्पतालमा भेटिनुभएकी शान्तिनगर बस्ने विद्या कार्की बिहान १० बजे खोप लगाउन आउनुभएको थियो । लाइन बसेरै भए पनि खोप लगाउन बस्नुभएका उहाँलाई खोप लगाउँदा २ बजिसकेको थियो । चार घण्टा उभिएर लाइनमा बसेपछि मात्र खोप लगाउन पाउनुभएकी विद्याले आफूलाई खोपप्रति विश्वास लागेरै खोप लगाउन आएको बताउनुभयो । खोप लगाउन आउनुभएकी सुरक्षा शर्मा सुरुमा खोप लगाउने र कार्यालयको काम पनि पूरा गर्ने भनेर आउनुभएको रहेछ तर खोप लगाउनेको लाइन देखेपछि कार्यालयमा नआउने जानकारी गराउनुभयो । यति धेरै लाइन त मैले देखेकी थिइनँ, धेरैमा खोपप्रति विश्वास बढेछ, शर्माले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सुरुमा खोपप्रति विश्वास जगाउन मन्त्रालयले धेरै प्रयत्न गरेपछि विस्तारै मानिसले खोपप्रति बुझ्दै गएको बताउनुभयो । खोप लगाइसकेपछि पुनः कोरोना नलाग्ने भन्ने भ्रम फेरि चिर्नुपर्ने भन्दै उहाँले खोप लगाएका मानिसलाई अस्पताल भर्ना गर्न नपर्ने बताउनुभयो । खोपप्रति मानिसको आकर्षण बढेको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले सुरुसुरुमा खोप लगाउन आउनुस् भन्दा नआएको स्मरण गर्दै अहिले भने धेरै मानिस खोप लगाउन प्रोत्साहित भएको बताउनुभयो । खोप लगाउन हुन्न भन्नेहरू बाँकी नरहेको भन्दै उहाँले कोरोनालाई जित्नका लागि खोप मात्र एक विकल्प भएको बताउनुभयो । काठमाडौँमा दोसो मात्रा खोप सञ्चालन भइरहेको भन्दै उहाँले दुई लाख ४० हजारभन्दा बढीलाई दोस्रो मात्रा खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो । खोप शाखा प्रमुख सागर दाहालले खोप लगाउनेको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?