logo
२०८१ बैशाख ८ शनिवार

  दृश्य समाचार  



जडीबुटी र औषधिजन्य फूलले धपक्कै छ खप्तड

समाज |


जडीबुटी र औषधिजन्य फूलले धपक्कै छ खप्तड


डिलबहादुर सिंह
खप्तड, भदौ १० गते । सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ । फराकिला पाटनहरुमा फूलेको औषधिजन्य फूलले खप्तड क्षेत्र धपक्कै बलेको छ । डोटी, अछाम, बाजुरा र बझाङ्ग जिल्लाको सँगमस्थलको रुपमा रहेको खप्तड क्षेत्रमा वर्षायाममा फुल्ने फूलहरु चारैतिर ढकमक्क देखिन्छन् ।


खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल २२५ वर्ग कि.मी. रहेको छ । समुद्र सतहबाट तीन हजार पाँच सय मिटर सम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५६७ थरिका वनस्पतीहरु पाइन्छन् । खप्तडलाई २२ पाटन, ५२ झोती (थुम्का)को संगमस्थलका रुपमा पनि लिने गरिन्छ ।
खप्तड पुग्न यात्रा केही कठिन भए पनि खप्तडको सुन्दरताले बाटोको थकान मेटाउँछ । हिउँदमा हिउँले पुरिने खप्तड वर्षायाममा सयौं प्रकारका फुलै फूलहरुको बगैचा झै देखिन्छ । विभिन्न किसिमका चराहरूको चिरबिरले वातावरणलाई अरू मनमोहक बनाएको हुन्छ ।
कसरी जाने खप्तड ?
खप्तड पुग्न अछाम, बझाङ्ग, बाजुरा र डोटीबाट जान सकिन्छ । खप्तड पुग्ने धेरै बाटाहरू भए पनि बढी चलनचल्तीमा डोटीको बाटो रहेको छ । काठमाडौंबाट हवाईजहाज वा बसबाट पनि धनगढी पुग्न सकिन्छ । धनगढीदेखि डोटी जिल्लाको सदरमुकाम सिलगढीसम्म आठ घन्टा बस चढेपछि डोटीकै झिग्राना सम्म दुई घण्टाको जिपको यात्रा गर्नुपर्छ । सिलगढीबाट हिँडेकै दिनमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्ज प्रवेशसँगै अप्ठ्यारो तथा निकै ठाडो उकालो बाटो आउँछ । दोस्रो दिन बिचपानीबाट हिँडेपछि ठुल्ठूला चट्टान र घना जंगलको बाटो हिड्नुपर्छ । बाटोमा फुलेका रंगीचंगी फूलहरूको सौन्दर्यको आनन्द लिँदै साँझ त्रिवेणी मन्दिर पुगिन्छ । खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ । साथै, ड्राइफुड पनि बोक्नुपर्छ । यहाँ बास बस्नका लागि गेष्टहाउस भए पनि तिनको उचित व्यवस्थापन हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?