logo
२०८० चैत्र १५ बिहीवार



सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै

३० देखि ५० प्रतिशत सस्तो हुने

अर्थ |
स्वास्थ्य |


सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै


सरोज ढुङ्गेल

काठमाडौँ, साउन १८ गते । अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन सुरु भएको हो । नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।
नेपालमा क्यान्सरको औषधि उत्पादन सुरु हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णु पौडेलले नेपालमै क्यान्सर रोगको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताउनुभयो । उहाँले नेपालमै औषधि उत्पादन हुँदा बिरामीले सस्तो औषधि पाउन सक्ने भएकाले यसले नेपालीलाई फाइदा गर्ने बताउनुभयो ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालीका लागि क्यान्सरको औषधि नेपालमै उत्पादन हुँदा धेरै सहज हुने बताउनुभयो । उहाँले अब क्यान्सरका हरेक औषधि सस्तोमा उपलब्ध हुने जानकारी दिनुभयो ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले पनि नेपालमा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन नेपालमा नै सुरु भएको बताउनुभयो । यसले नेपालमा क्यान्सर रोगीका लागि धेरै फाइदा हुने बताउनुभयो ।
‘एन्टी क्यान्सर’ औषधि टिजिग फर्माले उत्पादन सुरु गरेको हो । फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले फर्मामा क्यान्सरसम्बन्धी मात्रै औषधि उत्पादन हुने जानकारी दिनुभयो । उहाँले क्यान्सरविरुद्ध औषधि उत्पादन गर्ने आफ्नो कम्पनी नेपालकै पहिलो भएको बताउँदै औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।
उहाँले एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमा बजारमा ल्याइने बताउनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठन र नेपालको प्रविधि हस्तान्तरणमा रहेको नियमअनुसार भारतको हैदरवादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादन र बिक्री वितरण गर्दै आएको फर्मा कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी औषधि उत्पादन अघि बढाएको बताउनुभयो ।
काभ्रेको नालामा १६ रोपनी क्षेत्रफलमा उद्योग रहेको र हालसम्म ३२ करोड रुपियाँ लगानी भइसकेको बताउनुभयो ।
उहाँले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको जानकारी दिँदै थप १० वटा मोलिक्युलका लागि स्वीकृति लिन लागिएको बताउनुभयो । तीमध्ये पाँचवटा फर्माकोपेल, अरू ननफर्माकोपेल छन् । यीमध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले जानकारी दिनुभयो ।
अत्याधुनिक प्रविधिमा बनाइएको आफ्नो कम्पनी विश्व स्वास्थ्य सङ्गठनको असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड र औषधि उत्पादनसंहिता २०७३ अनुरूप बनाइएको वैद्यले बताउनुभयो । उहाँले यो नेपालकै नमुना कम्पनी भएकोसमेत दाबी गर्नुभयो । क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न नमिल्ने उहाको भनाइ छ । उहाँले नवीनतम र अत्याधुनिक प्रविधि जडान भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?